राजनीति

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको समानान्तर कमिटी गठन

इकागज |
भदौ ९, २०७८ बुधबार १९:५८ बजे

धनगढी - राष्ट्रिय जनमोर्चा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष लोकेन्द्र लम्सालले समानान्तर कमिटी गठन गरेका छन् । प्रदेश अध्यक्ष नन्दलाल भट्ट पक्षबिनै लम्सालले अर्को कमिटी गठन गरेका हुन् । 

बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै लम्सालले समानान्तर कमिटी गठन गरिएको जानकारी गराए । धनगढीमा भएको दुईदिने प्रदेशस्तरीय भेलाले लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको लम्साल पक्षका नेताहरूको भनाइ छ । नयाँ कमिटीको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आचार्य, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी चयन भएका छन् ।


यस्तै अन्य सदस्य पनि चयन गरिएका छन् । सल्लाहकार समितिमा जयराज भण्डारी, शंकर शोव, सिद्धसिंह बिक, कृष्ण पण्डित, पदम साउद, उद्वव ऐर छन् ।जनमोर्चाका सुदूरपश्चिम अध्यक्ष नन्दलाल भट्टले भने पार्टीको विधान र अनुशासनविपरीत नयाँ कमिटी गठन गरिएकाले यो कार्य अवैध र अनधिकृत रहेको बताउँदै समानान्तर कमिटी गठन गर्ने नेताहरूलाई पार्टीले कारबाही गर्ने बताए । 

जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले पनि प्रेस वक्तव्य जारी गर्दै नयाँ कमिटी र धनगढीमा गरिएको भेला अवैध भएको बताएका छन् । सो भेला र कमिटी अवैध भएको ठहर गर्दै त्यसलाई खारेज गरिने महासचिव भट्टको भनाइ छ । प्रदेशमा समानान्तर कमिटी गठन भएसँगै जनमोर्चा विभाजित हुने देखिएको छ ।


Author

थप समाचार
x