महन्थहरूको सांसद पद खोस्न चाहेका थियौँ, तर...
जनकपुरधाम - जनता समाजवादी पार्टी, नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरहरूका कारण पार्टी सरकारको नेतृत्वमा नपुगेको दाबी गरेका छन् ।तत्कालीन अवस्थामा ठाकुर जसपाको अध्यक्ष र राजेन्द्र महतो शीर्ष नेता भए पनि उनीहरूले पार्टीभित्र नेतृत्वदायी भूमिका खेल्न नसकेको यादवको आरोप छ ।
‘पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर-महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरूको कदमलाई हामीले विफल पारिदियौं,’ जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘ठाकुर-महतोले सत्तालिप्साका कारण धैर्य गुमाउँदा जसपा सरकारको नेतृत्व गर्नबाट वञ्चित भयो ।’
उनले ओली र ठाकुर-महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणीसमेत गरेका छन् । उनीहरुको समूह गणतन्त्रसहितको उपलब्धी मास्ने दिशामा अघि बढेकोले उनीहरू सत्ताच्यूत भएर जनतामा नांगिएको यादवले बताए ।
‘संघीय गणतन्त्र र समावेशीकरणसहित आन्दोलनका उपलब्धीहरू जसपाले मात्र रक्षाा गर्नसक्छ । आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रूपमा उदाउँछ,’ उनले भने । ठाकुर-महतोको सांसद पद आफूहरूले जोगाइदिएको अध्यक्ष यादवले जिकिर गरे ।
‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरूको सांसद पद खोस्न सक्थ्यौं । तर हामीले केही गरेनौं,’ उनले भने, ‘अहिले उनीहरू पनि समाजवादीकै झण्डा बोकर हिँडेका छन् तर झण्डा बोकेरमात्र कोही समाजवादी हुँदैन, समाजवादी हुन खास एजेण्डा चाहिन्छ ।’
सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जसपा पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायत सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया