नेकपा समाजवादी र लोसपालाई सुविधा उपलब्ध गराउन संसद् सचिवालयलाई सकस
काठमाडौँ – नेकपा एमाले र जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन भएसँगै संसदीय गणितमा फेरबदल आएको छ । एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बनेको र जसपा विभाजन भएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि संसद्को गणितमा फेरबदल आएको हो ।
एमाले र जसपाबाट विभाजित भएर संसद्मा दुई नयाँ दल थपिएसँगै यी दललाई भौतिक पूर्वाधार र सुविधाहरू उपलब्ध गराउन सकस परेको संसद् सचिवालयले जनाएको छ । राजनीतिक दलको संख्या बढेसँगै संघीय संसद् सचिवालयलाई आर्थिक दायित्व पनि बढेको छ । यी दुई दललाई तत्कालै संसदीय दलको कार्यालय उपलब्ध गराउनुपर्ने भए पनि भवन अभाव रहेको संसद् सचिवालयले जनाएको छ । कार्यालयसँगै सचिवालयमा कर्मचारी र सवारी साधन, इन्धनलगायतका सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ । यसले गर्दा संसद सचिवालयलाई आर्थिक भार पर्न जाने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई उपलब्ध गराउने सवारी साधनकोसमेत अभाव रहेको संसद सचिवालयले जनाएको छ । तत्कालै सवारी साधन किन्नुपर्ने अवस्थामा सचिवालयसँग बजेट अभाव हुँदा अर्थ मन्त्रालयसँग् माग गर्नुपर्ने र अर्थ मन्त्रालयले दिदाँसम्म केही समय बित्नसक्ने उनले बताए । विगतमा भएका राजनीतिक दल र अवस्थालाई हेरेर बनाइएका भौतिक संरचनाहरूले अहिलेको परिवर्तित अवस्थाअनुसार मागको परिपूर्ति गर्न नसकेको उनले बताए । पुरानो संरचनाको आधारमा अहिलेको अवस्थाअनुसार दलहरूलाई सेवा, सुविधा तथा संरचना दिनुपर्ने भएका कारण चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
संघीय संसद्को नयाँ भवन नबनेसम्म दलहरूलाई सहज ढंगले आधारभुत पूर्वाधार उपलब्ध गराउन नसक्ने अवस्था रहेको उनले बताए । संसद्मा फेरिएको गणितसँगै प्रतिनिधि सभामा एमालेको सांसद संख्या ९८ जना रहेको छ भने राष्ट्रिय सभामा २६ जना रहेको छ । यस्तै नेपाली कांग्रेसको प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा ७, नेकपा माओवादी केन्द्रको प्रतिनिधि सभामा ४९ र राष्ट्रिय सभामा १५, नेकपा (एकीकृत समाजवादी)को प्रतिनिधि सभामा २३ र राष्ट्रिय सभामा ७, जसपाको प्रतिनिधि सभामा २१ र राष्ट्रिय सभामा २ र लोसपाको प्रतिनिधि सभामा १३ र राष्ट्रिय सभामा १ जना सांसद संख्या रहेको छ ।
यी दलहरूसँगै प्रतिनिधि सभामा स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १, र स्वतन्त्र सांसद १ जना रहेका छन् । यस्तै राष्ट्रिय सभामा पनि १ जना स्वतन्त्र सांसद रहेका छन् । संसदको गणित फेरिएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता धमलाले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया