राजनीति

शिक्षकको हत्या गरेर चन्द समूहले दिन खाेजेकाे सन्देश

विनोद देवकोटा |
मंसिर २५, २०७७ बिहीबार १८:५१ बजे

काठमाडौं : मंगलबार मोरङ मिक्लाजुङको विकट क्षेत्रमा पर्ने सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको विभत्स हत्या भयो । ५४ वर्षीय श्रेष्ठलाई मंगलबार बिहान चार/पाँच जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरी घरबाट करिब १ किलोमिटर दूरीमा पर्ने जङगलमा पुर्‍याए । त्‍यहाँ दुवै हात पछाडि बाँधेर घाँटी रेटी विभत्स उनको हत्या गरी छोडेर हिडे । हत्या गरेको एक घण्टापछि श्रेष्ठको शव गाँउलेले भेटाए । 
 
बिहान स्थानीयले गोली चलेको आवाजसमेत सुनेका थिए । सुरुमा उनको गोली हानी हत्या भएको स्थानीयको आशंका थियो ।  शव फेला पर्दा शरीरमा गोलीको दाग भेटिएन । गोली किन चलाइयो भन्‍ने अहिलेसम्म अनुत्तरित छ । घटनाको जिम्मा चन्द समूहले लिइसकेको छ ।
 
एक वर्ष अघिदेखि शिक्षक श्रेष्ठले आफूहरूविरुध्द प्रहरी प्रशासनलाई सूचना दिएको, आफ्ना २ जना कार्यकर्तालाई पक्राउ गर्न सहयोग गरेको, पटक-पटक सुध्रिन आग्रह गर्दासमेत अटेर गरेको आरोप चन्द समूहको छ ।  श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर उल्टै आक्रमण गरेकाले प्रतिकार गर्दा मृत्यु भएको नेकपाको दाबी छ । नेकपा केन्द्रीय कार्यालयले समेत पार्टीले व्यक्ति हत्याको नीति नलिएको भन्दै यो घटनालाई विशुध्द आत्मरक्षाका लागि प्रतिकार हुँदा भएको भनेको छ ।
 
हत्या गर्ने अवस्थामा किन पुग्यो नेकपा ?
प्रतिबन्धित नेकपाले आफ्नो क्रान्ति हत्या, हिंसाबाट नभइ जनताबीचबाट अघि बढ्ने बताउँदै आएको छ । एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने राजनीतिक उद्देश्य लिएको बताउने समूहले दलाल पूँजीपति वर्गविरुध्द संघर्ष गर्दै आएको बताउँछ । मध्यम वर्गीय जनतालाई साथ लिएर एकीकृत जनक्रान्ति गर्ने दाबी गर्ने समूहको निसानामा मंगलबार विकट गाउँका एक शिक्षक परे ।

समूहले घटाएको पहिलो घटना भने होइन यो  । यसअघि विभिन्‍न क्षेत्रमा समूहले गराएको बम विस्फोटमा केही व्यक्तिले ज्यान गुमाइसकेका छन् । समूहका केही कार्यकर्ताले आफ्नै असावधानीले आफैले बोकेको बम विस्फोट भएर समेत ज्यान गुमाएका छन् । केहीलाई प्रहरीले प्रतिकारका नाममा मारिदिएको छ । समूहले व्यक्ति हत्यामा पहिलो पटक आधिकारिक रुपमै जिम्मा लिएको छ । सुराकीको आरोपमा मानिसलाई अपहरणपछि घाँटी रेटेर त्रास सिर्जना गर्न खोजिएको छ । समूहका नेता कार्यकर्ता पक्राउ परिरहनुमा सुराकीले काम गरेको निष्कर्ष नेतृत्वको ठहर छ । चन्द समूहबारे सुरक्षा निकायलाई जानकारी दिने व्यक्ति वा समूहलाई तर्साउन पनि यस्तो गरिएको हुन सक्ने एक सुरक्षा अधिकारी बताउँछन् । अर्को, राज्यलाई सुरक्षा चुनौति दिन गरिएको हुनसक्ने प्रहरी बताउँछ ।


एक व्यक्ति मारेर अरुलाई तर्साउने विगतमा माओवादीले अख्तियार गरेको रणनीतिलाई चन्द समूहले निरन्तरता दिन खोजेको देखिन्छ । चेतावनी दिने ढंगबाट अरुलाई त्रसित बनाउन यस्तो गरेको हुनसक्ने कतिपयको भनाइ छ । स्थानीयकाअनुसार प्रधानाध्यापक श्रेष्ठ शिक्षक मात्र नभइ अगुवा कृषक र सामाजिक अभियन्तासमेत भएकाले त्यस क्षेत्रमा राम्रो प्रभाव थियो । परिर्वतनका लागि हत्या हिंसाको बाटो सही नभएको भन्दै उनले प्रतिवाद गर्ने गरेका कारण उनी चन्द समूहको तारो बने ।
 
गत वर्ष समूह छोडेका मोहन कार्की घटनाले राजनीतिक सन्देश नदिने बरु चन्दप्रति नै गलत सन्देश गएको बताउँछन् । ‘त्यो अराजकताको पराकाष्ठ हो । यसको कुनै राजनीतिक सन्देश हुन सक्दैन’ उनले भने, ‘यस्ता घटनाले जनतामा पार्टीप्रति वितृष्णा पैदा गर्छ । नकारात्मक सन्देश जान्छ । सफाया गरेर शक्ति देखिदैन । बरु यसले सरकारी दमन निम्त्याउँछ ।’ 

अर्का एक पूर्वमाओवादी नेता पनि यसले राजनीतिक सन्देश नदिने बताउँछन् । चन्दले तत्कालीन जनयुध्दकै सिको गरिरहेको उल्लेख गर्दै उनले भने, ‘विप्लवले तत्कालीन जनयुध्दकै सिको गरेको देखिन्छ । उनका प्रायः गतिविधि उस्तै छन् । तर त्यो बेलाको र अहिलेको परिस्थिति भने बिल्कुलै भिन्‍न छ ।’

मानिसलाई तर्साउने मनसायसाथ यस्तो गरेको हुनसक्ने उनले बताए । ‘राजनीतिक रुपमा विप्लवको संघर्ष कसका विरुध्द हो ? उनले भनेको एकीकृत जनक्रान्तिको कार्य दिशा के हो ? त्यससँग घटनाको सम्बन्ध छ जस्तो लाग्दैन । शिक्षकलाई सफाया गर्नुको राजनीतिक उद्देश्य हुँदैन । अहिले विप्लवका कार्यकर्ता पक्राउ परिरहेका छन् । उनीहरू पक्राउ पर्नुमा सुरक्षा निकायलाई सूचना दिने व्यक्तिलाई कारक मानिएको हुन सक्छ । त्यस्ता गतिविधिमा संलग्‍नलाई चेतावनी दिन शिक्षकको हत्या गरिएको हुन सक्छ । राज्यलाई चुनौती दिन पनि यसो गरिएको हुनसक्छ । जिम्मा लिँदा पनि सुराकीको आरोप लगाइएको छ ।’

घटनाले स्वयं चन्दलाई घाटा हुने उनको भनाइ छ । घटनाको आम मानिसले पनि विरोध गरिरहेको स्मरण गर्दै उनले भने, ‘यसले सरकारी दमन पनि बढाउँछ ।’

कडा बन्‍ने सरकारी संकेत
मोरङ घटनापछि सरकारले पनि चन्दप्रति कडा बन्‍ने संकेत गरेको छ । घटना भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्ति दिएरै कडा बन्‍ने संकेत गरेका छन् । नेपाली समाजलाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र सफल नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले केही तत्व समाजलाई द्वन्द्वतर्फ धकेल्न अग्रसर रहेको भन्दै सरकारले त्यसलाई प्ररास्त गर्ने स्पष्ट पारे । ‘अहिले पनि हतियार देखाएर समाजलाई धम्काउने, एक नेपालीले अर्का नेपालीलाई मार्ने काम भइरहेको छ’ ओलीको भनाइ थियो, सबै नेपालीको निर्धक्क बाँच्‍न पाउने अधिकारलाई सरकारले सुनिश्‍चित गर्छ ।’ ओलीले राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने दोहोर्‍याएका छन् । ओलीले यस्ता असामाजिक र अमानवीय कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । उनको संकेत प्रतिबन्धित चन्दप्रति भएको स्पष्ट छ । प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार चन्दप्रति कठोररूपमा प्रस्तुत हुने संकेत दिन्छ । 

बुधबार नै गृह मन्त्रालयमा सुरक्षा निकायको बैठकमा पनि पछिल्लो घटनाका बारेमा समीक्षा भएको छ । चन्द समूह व्यक्ति हत्यामा उत्रिएपछि कारबाहीलाई थप कडाइका साथअघि बढाउनुपर्ने तयारी सुरक्षा निकायहरूले गरिरहेका छन् । घटनापछि प्रदेशभर प्रहरीले सर्च अभियान सुरु गरेको छ । यो अभियानकै रूपमा अघि बढ्ने प्रहरी अधिकारीरू बताउँछन् । यस्तो अभियान देशभर विस्तार गर्ने प्रहरीको तयारी छ । त्यसका लागि उसले गृहमन्त्रालयबाट सहमति पाइसकेको छ ।

प्रहरी स्रोतले समूहका गतिविधिमाथि सुक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापा सुरुदेखिनै चन्द समूहप्रति कडा रूपमा प्रस्तुत हुनपर्ने बताइरहेका छन् । प्रहरी दिवसमा गृहमन्त्री थापाले चन्द समूहप्रति कडा रुपमा प्रस्तुत हुन अधिकारीहरूलाई निर्देशन दिएका थिए । उसका गतिविधि नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्‍न उनको निर्देशन थियो । 

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले मोरङको घटनालाई प्रहरीले जघन्य अपराधको रुपमा लिएको बताए । अपराधमा संलग्‍नको खोजी भइरहेको उनले बताए । ‘मोरङमा जुन घटना घट्यो त्यो एकदमै जघन्य अपराध हो’ उनले भने, ‘यो घटनालाई कानुनी दायरामा ल्याउन प्रहरी प्रयासरत छ । अपराधी र अभियुक्तलाई खोजतलास गर्ने काम भइरहेको छ ।’

चन्द समूहको गतिविधिलाई प्रहरीले सुक्ष्म रुपले निगरानी गरिरहेको उनले बताए । ‘त्यस्ता किसिमका गतिविधिहरुलाई दुरुत्सान गर्न हामी प्रयासरत छौं’, उनले भने, ‘यस्ता घटना पुनः घट्न नपाओस् भन्‍न प्रहरी थप संवेदनशील भएको छ । उनीहरूको मुभमेन्ट हुने ठाउँहरूलाई सुरक्षा निगरानी बढाएको छ ।’

चन्द समूहले हिंसाको बाटो रोजेको भन्दै सरकारले २०७५ फागुन २८ गतेदेखि यसका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

*शीर्षक परिवर्तन ।

र यो पनि .....

व्यक्ति हत्या बन्द गर

 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x