राजनीति

बागमती प्रदेशको मुख्यमन्त्री बन्ने राजेन्द्र पाण्डेको दाबी

इकागज |
भदौ १५, २०७८ मंगलबार १८:५८ बजे

फाइल फोटो

काठमाडौँ : माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् । मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन् ।

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसहरुले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे ।


आगामी भदौं २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्ने वित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ ।

त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए । उनले भने, ‘यो सनाखत भएको छ, अरु साथीहरु पनि थप हुन्छन । २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिन्छ । त्यो नाम दिएपछि त्यसपछि हामी हाम्रो दलको तर्फबाट यहाँ संसद सचिवालयमा पेश गर्छाै, हाम्रो दलको संख्या यति छ भनेर । र हामी नेकपा एमालेमा छैनौं भनेर पेश गर्छौं । त्यो पेश गरेको दिनदेखिनै अहिलेको सरकार अल्पमतमा प¥यो । यो सरकारको अर्को ठाउँ छैन । अरु सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन । अवको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाईनै अघि सारिएको छ । सबै दलको सहमतीको क्यान्डिडेट हो म ।’ नेता पाण्डेले सत्तारुढ दलहरु सबैले  मुख्यमन्त्रीमा आफूलाई सहमती दिएको पनि बताए । 

 


Author

थप समाचार
x