राजनीति

प्रदेश २ मा लोसपाको पक्षमा १० सांसदको सनाखत (सूचीसहित)

सुभाष कर्ण |
भदौ १६, २०७८ बुधबार १६:२६ बजे

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) बाट विभाजन भएर नयाँ पार्टी बनेको लोकतान्त्रिक समाजवादी पार्टीका लागि १० प्रदेश सभा सदस्यले सनाखत गरेका छन् ।

आज बुधबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर पूर्व राजपाका ११ जनाले सनाखत गरेका हुन् । नयाँ दल दर्ता भएपछि निर्वाचन आयोगले जनप्रतिनिधि तथा सांसदहरुलाई दल रोज्न भदौ २२ गतेसम्मको समयावधि दिएको थियो ।


लोसपाको पक्षमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साहले सनाखत गरेका हुन् ।   

लोसपाका पक्षमा पूर्व राजपाका २५ जना प्रदेश सांसदमध्ये हाल १५ जना लोसपाको पक्षमा खुलेका छन् । १५ जनामध्ये बाँकी रहेका डिम्पल झा, अभिराम शर्मा, जितेन्द्र सोनल र उपेन्द्र महतोले भदौ २२ गतेसम्म सनाखत गर्ने बताइएको छ । सभामुख सरोजकुमार यादव पनि लोसपामा रहेको दाबी गरिदै आएको छ ।

प्रदेश-२ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेको थियो । जसमध्ये पूर्व राजपा परित्याग गरी १० जना सांसद जसपामा गइरकेको छ ।

सनाखतमा आएका पूर्वमन्त्री जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी वैकल्पिक शक्तिको रुपमा उदाएको बताए ।    


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x