राजनीति

झलनाथलाई उपचार खर्च दिएकोमा सर्वोच्चको कारण देखाउ आदेश

इकागज |
भदौ १६, २०७८ बुधबार १९:१० बजे

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई सरकारले उपचार खर्च उपलब्ध गराएकोप्रति सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सरकारले उनलाई उपचार खर्च उपलब्ध गराउनु गैरकानुनी भएको भन्दै सर्वोच्चले बुधबार कारण देखाउ आदेश जारी गरेको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।


उच्च पदस्थ व्यक्तिलाई सरकारले गैरकानुनी ढंगले उपचार खर्च दिएर राज्यस्रोतको दुरुपयोग गरेको भन्दै पोखरेलले रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र कारण देखाउन सरकारलाई आदेश दिएको हो ।

स्वास्थ्य समस्या देखिएपछि खनाल २ असारमा भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटल भर्ना भई मृगौला प्रयारोपण गरेर सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ५ साउनमा उपचाररत खनालको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका थिए । 


Author

थप समाचार
x