राजनीति

प्रदेश २

एमालेका ११ सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

इकागज |
भदौ १७, २०७८ बिहीबार १५:१८ बजे

काठमाडौँ – प्रदेश-२ मा नेकपा एमालेका ११ प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् । आज बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेमध्ये एक प्रदेश सभा सदस्य डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गरे । उनी उपचारको क्रममा भारतको नयाँ दिल्लीमा छन् ।  क्यान्सर रोगको उपचार गराइरहेका उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र पठाएर सनाखत गरेका हुन् ।    
 
सत्रुध्न महतो, चन्द्रसेन प्रसाद श्रीवास्तव, मञ्जु यादव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, प्रमोद यादव, हसिमा खातुन, अशोक यादव छन् ।  नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले भने शुक्रबार या आइतबारमात्रै सनाखत गर्ने बताइएको छ ।


उनीहरु काठमाडौँमा भएकोले सामूहिक रुपमा सनाखत गर्न नपुगेको बताइएको छ । प्रदेश सभामा एमालेका २१ सदस्य थिए । ११ जना एकीकृत समाजवादीको पक्षमा खुलेपछि एमालेमा जम्मा १० सदस्यमात्रै बाँकी भएका छन् । नेकपा एकीकृत समाजवादीले प्रदेश-२ सरकारमा सहभागी हुने संकेत दिइसकेको छ ।  


Author

थप समाचार
x