राजनीति

धर्म-संस्कृतिबिना समृद्धि असम्भव : कमल थापा

इकागज |
भदौ १७, २०७८ बिहीबार १९:५१ बजे

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले धर्म-संस्कृति मासेर मुलुकमा समृद्धि आउन नसक्ने दाबी गरेका छन् । बिहीबार मकवानपुरको बकैया गाउँपालिका-३ हात्तीसुँढेमा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

सत्तामा पुग्‍न र टिक्क विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्नेसमेत उनको भनाइ छ । ‘धर्म-सस्कृति र पहिचान समाप्त पारेर मुलुकमा समृद्धि हासिल हुँदैन । राष्ट्रियता र स्वाधिनतासँगै धार्मिक र सांस्कृतिक पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने बेला आएको छ,’ थापाले भने, ‘लोभ, लालच र भ्रमको राजनीति टिकाउ हुँदैन ।’


दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा संलग्‍न दोषीलाई कारबाही गर्न सरकार निकम्मा भएको थापाको तर्क छ । ‘भारतीय सुरक्षाकर्मी एसएसबीले तुइनको तार काटिदिएको घटनासमेत बंग्याउन बाध्य सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न सकिँदैन,’ उनले भने, ‘उक्त घटनामा संलग्न दोषीलाई सरकारले कारबाही गरी न्याय दिलाउनका लागि जनताले आवाज उठाउनुपर्छ ।’

अध्यक्ष थापाले अन्य दलको कुप्रचार र षड्यन्त्र चिरेर उच्चमनोबलसहित स्थानीय तहको निर्वाचनको तयारीमा लाग्‍न नेता, कार्यकर्तालाई निर्देशन दिए ।


Author

थप समाचार
x