राजनीति

प्रदेश- २ मा गिरी र झासहित जसपाका दर्जन सांसद्ले राेजे लोसपा

सुभाष कर्ण |
भदौ १७, २०७८ बिहीबार २१:१ बजे

जनकपुरधाम – प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का थप दुई सांसद् लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)मा खुलेका छन् । प्रदेश २ का सांसद् प्रह्लाद गिरी र डिम्पल झाले बिहीबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

गिरी उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीमार्फत पर्सा ३ (ख) बाट निर्वाचित निर्वाचित सांसद् हुन् भने झा पुर्वराजपाबाट विजयी सांसद् हुन् । गिरी र झाले खनाखत गरेसँगै लोसपा रोज्ने सांसद्को संख्या १२ पुगेको छ । महन्थ ठाकुरले जसपा विभाजन गरेर लोसपा दर्ता गरेपछि यो दलमा खुल्नका लागि निर्वाचन आयोगले दिएको २२ भदौसम्मको समयसीमा दिएको छ । 


‘२२ गतेसम्ममा लोसपामा खुल्ने सांसद्को संख्या अझै थपिन्छ,’ केन्द्रीय कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले भने । ‘मसहित उपेन्द्र महतो, अभिराम शर्माले अहिले सनाखत गर्न बाँकी  नै छ । लोसपाको पक्षमा सभामुखसहित १६ जना माननीयहरू खुल्नुभएको छ । अन्य माननीयहरूसँग हाम्रो कुरा भइरहेकोको छ । अधिकतम संख्यामा माननीयहरू हामीसँगै आउनुहुनेछ,’ उनले भने ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x