राजनीति

खोटाङमा नेकपा एसको पार्टी कार्यालय स्थापना

इकागज |
भदौ १९, २०७८ शनिबार १९:५२ बजे

दिक्तेल - नेकपा (एकीकृत समाजवादी) खोटाङको पार्टी कार्यालय स्थापना भएको छ । पार्टी प्रदेश– १ समन्वय समिति संयोजक वीरबलकाजी राईले सो कार्यालयको शनिबार नै उद्घाटन गरेका छन् ।

‘नेकपा एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पु¥याएकाले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले नयाँ पार्टी खोल्नुपरेको हो,’ कार्यालय उद्घाटन गर्दै संयोजक राईले भने । कार्यालय उद्घाटन कार्यक्रममा सत्तागठबन्धनमा आवद्ध राजनीतिक दलका प्रतिनिधिले नेकपा एसका पदाधिकारीलाई शुभकामना दिएका छन् ।


कार्यक्रममा नेकपा माले पोलिटब्यूरो सदस्य एवम् पूर्वसांसद कुलप्रसाद फँुयाल, नेपाली कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य, नेकपा माओवादी केन्द्र युवानेता विसन राई, जनता समाजवादी पार्टी,  नेपाल (जसपा)का प्रदेश १ सदस्य सूर्यबहादुर राईलगायतले शुभकामना व्यक्त गरेका छन् । कार्यालय उद्घाटनसँगै समाजवादी खोटाङको पहिलो बैठकसमेत बसेको छ ।

बैठकमा पार्टीको भावी रणनीति तथा कार्ययोजनाबारे छलफल भइरहेको सचिवालय सदस्य एवम् युवा तथा खेलकूद विभाग प्रमुख माइतीराज राईले जानकारी दिए । पार्टी कार्यालयमा सम्पन्न बैठकले ६१ सदस्यीय जिल्ला कार्यसमितिसमेत गठन गरेको छ । नवगठित पार्टीमा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङसहित २३ जना जिल्ला कार्यसमितिका पदाधिकारी आवद्ध भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सात जननिर्वाचित वडाध्यक्षसमेत आफ्नो पार्टीमा आवद्ध भएको समाजवादी खोटाङका जिल्ला सचिव जलशेर राईले दाबी गरे । 

नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुख भने एमालेमै रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँचवटामा पालिका प्रमुख र सातवटामा उपप्रमुख जितेको थियो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमालेमै रहेका छन् भने प्रदेशसभा सदस्य राजन राई समाजवादीमा खुलेका छन् ।


Author

थप समाचार
x