राजनीति

राप्रपाले युवाहरूलाई पूर्णरूपमा आकर्षण गर्नुपर्छ : लावती

इकागज |
भदौ १९, २०७८ शनिबार २१:२३ बजे

ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नोपल (राप्रपा) का नेता सगुनसुन्दर लावतीले महाधिवेशनपछि पार्टीले फड्को मार्ने दाबी गरेका छन् । राप्रपा जिल्ला कार्यसमितिद्वारा शनिबार ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लावतीले यस्तो बताएका हुन् । ‘राजासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्रको नारा देशव्यापी रूपमा लोकप्रिय हुँदै गएको अवस्था छ । राप्रपा जनताबीच स्थापित हुने निश्चित छ,’ पार्टी कार्यसम्पादन समिति सदस्य तथा प्रदेश– १ उपाध्यक्षसमेत रहेका उनले भने, ‘देशलाई भरपर्दो प्रजातान्त्रिक विकल्प दिन, राप्रपाले युवाहरूलाई पूर्णरूपमा आकर्षण गर्नु पर्दछ ।’

प्रजातान्त्रिक दलको रूपमा राप्रपाले पूर्णरूपमा विधि र विधानलाई सर्वोपरि मानेर अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीको विधान अझै प्रजातान्त्रिक र समावेशी बनाएर विगतका टुटफुटका तीतो अनुभवलाई सही व्यवस्थापन गर्न सकिने धारणा राखे ।


कार्यक्रममा पार्टी ताप्लेजङ जिल्ला अध्यक्ष अमृत साउदेन, केन्द्रीय सदस्यहरू वविना मोक्तान लावती र तेज सुनवार, राप्रपा पाँचथर जिल्ला अध्यक्ष राजकुमार जोशी, राप्रपा ताप्लेजुङका सहअध्यक्ष डिल्ली विष्ट, जिल्ला नेताहरू गायत्री थेबे, सुरेश लिम्बु, बेनु ओझा, नरेन्द्र पौडेल, यामकुमार दाहाललगायतको उपस्थिति थियो ।


Author

थप समाचार
x