राजनीति

प्रदेश-२ मा स्थानीय तहतर्फ ८ सय ६६ लोसपा र ३ सय १३ नेकपा एस रोजे

सुभाष कर्ण |
भदौ २२, २०७८ मंगलबार २१:३७ बजे

जनकपुरधाम -  प्रदेश-२ मा स्थानीय तहका आठ सय ६६ जनप्रतिनिधिले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी र तीन सय १३ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । दल विभाजन अध्यादेश जारीले नेकपा एमाले र जनता सामाजवादी पार्टीबाट छुट्टिएर बनेका यी पार्टीमा यती मात्रामा जनप्रतिनिधिले सनाखत गरेका हुन् । 

एमालेबाट विभाजित एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजित लोसपाले प्रदेश दुईमा यी जनप्रतिनिधिको साथ पाएपछि राम्रै उपस्थिति बनाएका छन् । दल सनाखतको म्याद सकिंदासम्म प्रदेश २ मा नेकपा एमाले विभाजनले हुँदा १ हजार २ सय ५१ जनप्रतिनिधि मध्ये ३ सय १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गए । तत्कालिन राजपा र सपा एकीकृत भई बनेको जसपाका २ हजार एक सय ६८ जनप्रतिनिधि मध्ये ८ सय ६६ जनप्रतिधिले महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गरे । 


निर्वाचन आयोग कार्यालय जनकपुरका अनुसार प्रदेश २ मा लोसपामा सबैभन्दा बढी महोत्तरीबाट २ सय ५८ स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन् । जसमा ६ पालिकाका प्रमुख, १० पालिकाको उपप्रमुख र ४४ जना वडाध्यक्ष छन् ।

त्यस्तै धनुषामा १ सय ९ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेका छन् । जसमा १ पालिका प्रमुख र २ पालिकाका उपप्रमुख छन् । सप्तरीमा ९६, सिरहामा १२, रौतहटमा ८८, बारामा १ सय ३८ र पर्सामा २८ जना स्थानीय जनप्रतिनिधिले लोसपा सनाखत गरेको आयोगले जनाएको छ ।

तात्कालिन राजपाबाट १ हजार एक सय ११ जना जनप्रतिनिधि मध्ये २ सय ४५ जनप्रतिनिधि जसपामै रहने निर्णय गरेका हुन् । तात्कालिन समाजवादी पार्टीबाट १ हजार ५७ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

यता नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीमा सबैभन्दा बढी रौतहटमा ८४ जना स्थानीय जनप्रतिनिधिले गएका छन् । त्यस्तै धनुषा र सर्लाहीमा ४८/४८, बारामा ३२, महोत्तरीमा ६, सप्तरी २९, सिराहामा ६१ र पर्सामा ५ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x