Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

एमसीसी पारित भए नेपालमा नवउपनिवेशीकरणको सुरुवात हुन्छ : सीपी मैनाली

इकागज |
भदौ २३, २०७८ बुधबार १४:५१ बजे

काठमाडौँ - नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी पारित भएमा नेपाल आफैले नवउपनिवेशीकरणको सुरुवात गर्ने बताएका छन् । सन् १९४७ पछि भारतले उपनिवेशवादी नीति नछाडेको उल्लेख गर्दै अमेरिकाले प्रसारण लाइन र राजमार्गको नाममा रणनीतिक र राजनीति सुरक्षाको उद्देश्य प्राप्त गर्ने कोसिस भइरहेको पनि मैनालीले बताए । 

‘फ्रेन्ड्सीप फोरम फर नेपलिज जर्नालिस्ट्स’ ले आज बुधबार राजधानीमा आयोजना गरेको ‘एसियाली जलस्रोतको उपयोगमा सहयोग र नेपालको दृष्टिकोण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मैनालीले अमेरिकाले अरुको देशको कानुन बनाएर हस्तक्षेप गर्न खोजेको बताए ।


उनले अमेरिकाले तिब्बत ऐन बनाएर तिब्बत पठार क्षेत्रको पानीमाथि नियन्त्रण जमाउने प्रयास गर्दै आइरहेको आरोप लगाए । ‘अमेरिकाले अब नेपाललमा एमसीसीमार्पmत ‘नेपाल ऐन’ बनाउनेछ,’ मैनालीले भने, ‘हामीले एमसीसी पारित गर्‍यौं भने नेपाल अब नवउपनिवेशीकरणतर्फ लाग्नेछ, त्यसको सुरुवात नेपाल आफैले गर्दैछ ।’

नेपाली नेताहरुको लम्पसारवाद, भारतको उपनिवेशवादी नीति र एमसीसी नेपालको विकासको बाधक रहेको पनि मैनालीको कथन थयो । उनले सस्तो बिजुली बिक्री गरेर देश कहिल्यै धनी हुन नसक्ने र आन्तरिक उपभोगका सबै क्षेत्रलाई खुला गर्दै जानुपर्ने पनि उल्लेख छ । 

कार्यक्रममा पूर्व जलस्रोत मन्त्री एवं प्राज्ञ दीपक ज्ञवालीले अमेरिकी सहयोग नियोग (यूएसएआइडी) को सौताको रुपमा अमेरिकाले एमसीसी ल्याएको र त्यसले नेपालमा पूर्व इष्ट इण्डिया कम्पनीको रुपमा नेपाललाई ध्वस्त पार्ने बताए ।

भारतमा बेलायतीहरु व्यापार गर्ने उद्देश्यले आएको थिए र पछि उनीहरुले भारतलाई २ सय वर्षसम्म आफ्नो उपनिवेश बनाएका थिए । उनले एमसीसी सम्झौतामा १४ वटा बुँदा तत्कालीन बहालवाला परराष्ट्रमन्त्री (प्रदीप ज्ञवाली) लाई समेत हेर्न नदिएर गोप्य राखिएकाले एमसीसी विकास निर्माण गर्न नभई रणनीतिक उद्देश्यका लागि आएको दावी गरे ।

सन् २०१६ मा नेपाल विद्युत् प्राधिकरणले बनाएको प्रसारण लाइनको गुरु योजना (मास्टर प्लान) विपरीत एमसीसीले लप्सीफेदीदेखि रातामाटेसम्मको प्रसारण लाइन रेखांकन गरेको पूर्व जलस्रोत मन्त्री ज्ञवालीले उल्लेख गरे । एमसीसी अमेरिकाको हिन्द–प्रशान्त रणनीति (आइपीएस) मा मिसाउने गरी आएकाले नेपालले कुनै हालतमा स्वीकार गर्न नहुने बताए ।

उनले एमसीसीसम्बद्ध ११ वटा प्रश्न अमेरिकी सरकारलाई सोधेर देशकै बेइज्जत गरेको पनि आरोप लगाए । ‘धन्न विदेशीले नेपाली अखबार पढ्दैनन्,’ ज्ञवालीले भने, ‘आफै एमसीसीमा सही धस्क्याउने, अनि आफै नेपालको संविधान अनुसार छ कि छैन भनेर सोध्ने ? यो जत्तिको देशको बेइज्जती अरु के हुन सक्छ ।’

कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले पनि एमसीसीले नेपाललाई उपनिवेशीकरण गर्ने दाबी गरे । ‘एसियाली उपमहाद्वीपकै पैसा दक्षिण एसियाको विकास गर्न पुग्छ,’ उनले भने, ‘अमेरिकी पैसा चाहिंदैन ।’

चीनका लागि पूर्व राजदूत टंक कार्कीले वीपी कोइरालाले जसरी २०३४ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर आउनु भयो अहिले नेपालमा राष्ट्रिय सुरुक्षाका हिसाबले पनि बृहत् राष्ट्रिय मेलमिलाप आवश्यक रहेको बताए ।

कार्यक्रममा सिंचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले मुलुकमा उपलब्ध जलस्रोतको व्यापक उपयोगमा सरकारले काम गरिरहेको उल्लेख गर्दै अबको केही वर्षमै ७५३ वटै पालिका र ७७ जिल्लाका प्रत्येक घरघरमा धाराबाट पानी आउने बताए ।

विद्युत्को व्यापक उत्पादन भइरहेको अवस्थामा तल खोलाको पानी लिफ्ट (तानेर) गरेर माथि डाँडासम्म पु¥याउने र सिंचाइ तथा खानेपानीमा उपयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको सचिव राइले बताए । ‘अबको पाँच, छ वर्षमा प्रत्येक नेपालीको घरमा धारा हुनेछ,’ उनले भने । 

कार्यक्रममा परराष्ट्र मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले सिन्धु, गंगा, ब्रह्मपुत्र नदीहरुलाई अन्तर्राष्ट्रिय नदीको दर्जा दिनुपर्ने र जलस्रोतलाई सबै सहतटीय मुलुकहरु (चीनसहित) मिलेर बृहत् क्षेत्रीय सहयोगतर्फ अघि बढाउन सुझाव दिए । 
 


Author

थप समाचार
x