राजनीति

विरोध खतिवडाले बुझ्नुपर्छ, ओलीको सन्तान हुनुमा गौरव छ ः महेश बस्नेत

इकागज |
भदौ २६, २०७८ शनिबार १६:४३ बजे

हेटौंडा - नेकपा एमालेको नेता महेश बस्नेतले मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडालाई कटाक्ष गरेका छन् । बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्तान हुनुमा गर्व भएको भन्दै यही कुरा विरोध खतिवडाले बुझ्न जरुरी रहेको बताएका हुन् । 

बस्नेतले भने, ‘नेपाली इतिहासमा प्रचण्डको छोरा छँदा के गर्थे ? छोरी ज्वाँई के गर्छन् ? बाबुरामको श्रीमतीले के गरिन् ? शेरबहादुर देउवाको श्रीमती के गर्दैछिन् देखिएको छ । नेपालको ठेक्का-पट्टा र विकासका योजना बालुवाटरमा बसेर होइन होटलमा बसेर सेटिङ गर्ने गर्ने श्रीमती भएका नेताको अवैध छोराछोरी हुनुभन्दा केपी ओलीका सन्तान भएकोमा हामीलाई गौरव छ, यही कुरा विरोध खतिवडालाई बुझाउन चाहेको छु ।’


शनिबार राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँ अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले युवा पंक्तिले नै नेकपा एमाले चाहेको भन्दै सुरुमा सडकमा उफ्रिएको बताए । एमाले दुई धारमा देखिदा पार्टीको नेताहरु नै कता जाने स्पष्ट नहुँदा युवा पंक्ति सडकमा उत्रिएको बस्नेतको दाबी छ । 

एमालेलाई कमजोर र समाप्त पार्न एमाले बाहेकका दलहरुको गठबन्धनको अभियान सुरु भएको तर गठबन्धनको नेतृत्वले एमालेलाई कमजोर बनाउन नसकेको महशुस गरेको नेता बस्नेतको भनाइ छ । ‘नाङ्लो ठटाएर हात्ती लखेट्न खोज्ने’ भन्दै बस्नेतले एमाले प्रतिपक्षमा बस्दा बलियो शक्तिको रुपमा देखिने पनि जिकिर गरे ।

बस्नेतले एमालेको अघिल्लो पुस्ता भन्नेहरु फर्सी जस्तै कुहिएर गएको र एमाले फुटाउन सर्वोच्च अदालत लागि परेको पनि बताए । अदालतको सेटिङमा बनेको परमादेशको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको उनको दाबी छ । 

एमाले हारेर सरकारबाट बाहिरिएको नभई जनमतमा जान कांग्रेस र माओवादीले नै स्वीकार नगरेको उनले बताए । एमाले अध्यक्ष केपी ओलीले युवाहरुको लागि बिना धितो १५ लाख ऋण, कृषि आधुनिकीकरण, टनेल खेती, कोशी खेती लगायतको योजना ल्याएर युवाहरुलाई रोजगारी दिँदा विरोध खतिवडाहरुलाई यस्तो नपचेको बताए । कार्यकर्ता र जनताले ओलीलाई ‘आइ लभ यू’ भनेको खतिवडालाई नपचेर पार्टी विभाजन गर्न सक्रिय भएर उनीहरु लागेको बस्नेतले आरोप लगाए । 

यसैगरी युवा संघका केन्द्रिय सदस्य तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले नेकपा एमाले मकवानपुरले जिताएर कांग्रेससँग मिल्न जनताले भोट हालेर उनीहरुलाई नपठाएको बताए । चौलागाईले युवा संघ अब पार्टीको प्रतिरक्षामा उत्रने बताए । एमालेको गलत प्रचार गरेमा युवाहरुले त्यसको प्रतिवाद गर्ने चौलागाईले दाबी गरे । 
 


Author

थप समाचार
x