राजनीति

गरिब जनतालाई निःशुल्क विद्युत : मन्त्री भुसाल

इकागज |
असोज ३, २०७८ आइतबार १९:३२ बजे

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबी अन्त्य नगरी समाजवाद नआउने दाबी गरेकी छन् । नेपाल पोल एशोसिएशनको आठौं वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने मन्त्री भुसालको भनाइ छ । ‘गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसंख्या मुक्त भएपछि मात्र मुलक समाजवादमा जान्छ,’ उनले भनिन् ।


मन्त्री भुसालले आफू जनताप्रति जिम्मेवार भएर नै २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराएको बताइन् । ‘अब गरिब जनतालाई विद्युत निःशुल्क उपलब्ध हुन्छ, मैले गरेको निर्णयबाट साढे २८ हजार घरपरिवारले लाभान्वित हुन्छन्,’ मन्त्री भुसालले भनिन् । जनतालाई दिएको छुट नेपाल विद्युत् प्राधिकरणको सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने व्यवस्था मिलाइएको मन्त्री भुसालले जानकारी दिइन् । 

 संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले देशको अर्थसामाजिक विकासलाई न्यायका आधारमा वितरण गर्ने नीतिले देशलाई समाजवादमा पु¥याउने तर्क गरिन् । कार्यक्रममा उनले निजी क्षेत्रको भूमिकालाई राज्यले कहीं पनि न्यूनीकरण नगर्ने स्पष्ट पारिन् । ‘आफ्नो पेशा र व्यवसायप्रति गर्व गर्नुहोस्, तपाईंहरूको सकारात्मक भूमिकाप्रति राज्यको सम्मान छ,’ उनले भनिन् ।
 


Author

थप समाचार
x