गोरखाकाे सिक्चेत पुगेर गृहमन्त्री खाणले भने:
‘पहिरो पन्छाएर खाद्यान्न आपूर्ति गर्न पहल गर्छु’
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले गोरखाको सिक्चेत गाउँमा देखिएको समस्या तत्काल समाधान गरिने प्रतिबद्धता जनाएका छन् । २ भदौंमा लोक्पा र सर्दी भीरमा खसेको पहिरोले सडक अवरुद्ध हुँदा चुमनुबरी गाउँपालिकाका – ६ मा खाद्यान्न संकट भई जनजीवन प्रभावित भएकोप्रति चासो राख्दै मन्त्री खाणले स्थानीयबासीको समस्या तत्काल समाधान गरिने प्रतिबद्धता जनाएका हुन् ।
चूम सिक्चेत मानखाङ गुम्बाको उद्घाटन गर्न शुक्रबार सिक्चेत पुगेका मन्त्री खाणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि तत्काल पहल गर्ने जनाए । सिक्चेतमा देखिएको खाद्यानको समस्या समाधान गर्न मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु गरिने पनि उनले बताए ।
‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ । आवश्यक खाद्यान्न हेलिकोप्टरबाट भए पनि यहाँसम्म पुर्याउने व्यवस्था हुन्छ,’ मन्त्री खाणले भने । सोही कार्यक्रमका लागि पुगेका मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेललाई पहिरो हटाउनका लागि मन्त्रालयबाट पहल गर्न मन्त्री खाणले निर्देशन दिएका छन् ।
स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँग पहिरो हटाउनका लागि पहल गर्ने मन्त्री खाणले प्रतिबद्धता जनाए । सो स्थानमा पहिरो अझै नरोकिँदा सिक्चेत गाउँमा खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयलाई जीविका गुजारा र आवतजावतमा समस्या भइरहेको छ ।
मन्त्री खाणलाई चुमनुबरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष लोप्साङ थुन्जो लामाले त्यहाँका पहिरोलगायतका वडाले झेल्नु परेका समस्याबारे अवगत गराएका थिए । उनले पहिरो खस्ने क्रम नरोकिँदा खाद्यान्न समस्या भोग्नु परिरहेको, सञ्चारको सुविधा नभएको, सुरक्षाको सुविधा नभएको भन्दै मन्त्री खाणलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
करिब दुई हजार छ सय जनसंख्या रहेको गाँउमा कुनै घटना घटेमा सुरक्षाकर्मी आइपुग्न छ घण्टासम्म लाग्ने समस्या छ । प्रहरी चौकी चुम्लिङमा रहेको स्थानीयहरूले जानकारी दिए । यस्तै गाउँमा मोबाइल फोनका लागि टावर राखिदिन पनि स्थानीयले मन्त्रीलाई आग्रह गरेपछि उनले नेपाल टेलिकमसँग टावर सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।
गुम्बा खेम्पो कर्मा दावाको आर्थिक सहयोगमा निर्माण भएको हो । त्यस्तै दावाकै आर्थिक सहयोगमा निर्माण भएका सिक्चेतका ३७ मुलघर पनि स्थानीयलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम सकेर मन्त्रीसहितको टोली खाण शुक्रबारै काठमाडौं फर्किएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया