राजनीति

शुभकामना कार्यक्रममा सहभागीलाई प्रदेश २ सरकारले २ हजारको खाना खुवाउने

सुभाष कर्ण |
असोज ११, २०७८ सोमबार १३:५० बजे

जनकपुरधाम - प्रदेश २ सरकार वा उनका निकायले दिवस, समारोह अन्तर्गत शुभकामना आदान प्रदानमा सहभागी हुने व्यक्तिको रात्रिकालीन खाना तथा चियाका लागि प्रति व्यक्ति २ हजार रुपैयाँ खर्च गर्ने नीति बनाएको छ ।

प्रदेश सरकार दिवस समारोह कार्यक्रम संचालन कार्यविधिसहितका कानुन नै निर्माण गरी यस्तो दररेट तोकेको हो । सो कार्यविधि अनुसार प्रदेश सरकारले मनाउने दिवस समारोहमा सहभागी हुने प्रतिव्यक्ति दिवा खानाको ७ सय ५० रुपैयाँ र खाजा २ सय ५० रुपैयाँ दररेट तोकिएको छ ।


प्रदेश सरकारले २०७६ सालमा मनाएको आफ्नो स्थापना दिवसमा ७५ लाख रुपैया खर्च देखाएर भ्रष्टाचार गरिएको भन्ने विभिन्न संचार माध्यममा समाचार प्रकाशन/प्रसारण भएपछि आलोचना हुन थालेपछि २०७७ सालमा दिवस समारोह कार्यक्रम संचालन कार्यविधि बनाइ खर्चको मापदण्ड निर्धारण गरेको हो  ।

कार्यविधिअनुसार प्रदेश सरकारले दिवस समारोहमा प्रयोग हुने खुल्ला चौरमा मञ्च व्यवस्थापनका लागि दुई लाख, हलभित्रको मञ्चका लागि ५० हजार र कार्यक्रम वा उत्सवमा स्थानीय संस्कृति तथा पेशासँग सम्बन्धित झाँकी, नृत्य प्रस्तुतका लागि प्रति टोलीलाई २० हजार रुपैयाँको दरले खर्च गर्न पाउनेछ ।

त्यस्तै दिवस समारोहमा सम्मान कार्यक्रमका लागि प्रतिव्यक्ति दोसल्ला, कदर पत्र र सम्मानपत्र वापत ३ हजार र कार्यक्रम गर्नका लागि विविध खर्चमा ७० हजार रुपैयाँ खर्च पाउनेछ ।

सो कार्यविधिमा कुनै पनि दिवस, कार्यक्रम वा जयन्ती मनाउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीकै संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति बनाइनेछ र सो समितिले बैठक बसेर दिवस समारोह कार्यक्रम स्वीकृत गर्ने तथा सो बैठक बापत समिति पदाधिकारीहरूले बैठक भत्ता पाउने व्यवस्था गरिएको छ ।

उक्त समितिले मन्त्रालय वा निकायले मनाउने दिवस समारोह कार्यक्रमको बजेट समेत निर्धारण गर्नेछ । सो बजेट अनुसार नै कार्यक्रम सञ्चालन गर्ने/गराउने र लाग्ने खर्चको अनुमोदन समेत गर्नेछ । कार्यविधिलाई प्रदेश सरकारले आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x