राजनीति

बुटवलको चुरे पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

इकागज |
असोज १२, २०७८ मंगलबार १५:५० बजे

बुटवल - लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरूका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि ३ चरणका कार्ययोजना बनाउने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए ।

सोमबार नेपाली काँग्रेस बुटवल नगरसमितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले आवश्यक तयारीका लागि छिट्टै बैठक बसेर अघि बढ्ने योजनामा रहेको बताए । गएको भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएका छन् । यसैगरी भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबार विहीन बनेका छन् ।


बाढी पहिरो तथा डुबानले विस्थापित हुँदा समेत प्रदेश सरकारले समयमै चासो नदिएको भन्दै आलोचना हुने गरेको छ । घटना भएको एक महिना बितिसक्दा पनि सरकारले प्रभावितहरूको तथ्याङ्कनको काम समेत गर्न नसकेको भन्दै तीब्र आलोचना भएको हो ।

यसैगरी बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्थार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीब्रता दिन आवश्यक निर्देशन गरिने मुख्यमन्त्री केसीले आश्वासन दिएका छन् । सोमबार काँग्रेस नगरसभापति खेलराज पाण्डेसहितको टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

ज्योतिनगर पहिरो तथा तिनाउ नदी करिडोरका बाढी पीडितहरूलाई राहत, उद्धार र पुनःस्थापनाका लागि सभापति पाण्डेले ध्यानाकर्षण गराएका थिए । यसैगरी चौराह–गोलपार्क सडक विस्तारको काममा ढिलासुस्ति हुनुका साथै शहरको मुख्य सडक नै धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा शहरबासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै ध्यानाकर्षण गराएका थिए । काँग्रेसले बेलबास–बेथरी सडक विस्तार र कालिकानगर बाइपास सडक विस्तारको कामलाई समेत समयमै पूरा गर्नका लागि ध्यानाकर्षण गराएको थियो ।
 


Author

थप समाचार
x