राजनीति

कांग्रेस महाधिवेशन

मोरङमा महानगरसहित १२ गाउँ/नगरमा पौडेल पक्षको दबदबा, संस्थापन ५ पालिकामा मात्रै विजयी

बाबुराम भण्डारी |
असोज १७, २०७८ आइतबार १०:११ बजे

विराटनगर – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत मोरङका १७ वटै गाउँ र नगरमा गाउँ÷नगर सभापतिको निर्वाचन सम्पन्न हुँदा संस्थापन इतर पक्षको दबदबा देखिएको छ । विराटनगरसहित पौडेल–कोइराला समुहले मोरङका १२ वटा तहको नगर सभापति जितेको छ । बाँकी ५ वटा तहमा संस्थापन पक्ष विजयी भएको छ ।

१७ स्थानीय तहमध्ये जहदा गाउँपालिका, केराबारी गाउँपालिका, उर्लाबारी नगरपालिका र रतुवामाई नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । १३ वटामा शनिबार एकैपटक निर्वाचन भएको हो ।


पौडेल–कोइराला पक्षबाट विराटनगर महानगरपालिकासहित बेलबारी नगरपालिका, लेटाङ नगरपालिका,  पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, रतुवामाई नगरपालिकामा नगर सभापति जितेका छन् । त्यसैगरी सोही पक्षबाट मिक्लाजुङ गाउ“पालिका, कटहरी गाउ“पालिका, केराबारी गाउ“पालिका, कानेपोखरी गाउँपालिका, बुढीगंगा गाउँपालिकाको गाउँ सभापति जितेका हुन् ।

देउवा पक्षका उम्मेदवारले रंगेली नगरपालिका र सुनबर्षी नगरपालिकाको नगर सभापतिसहित धनपालथान गाउँपालिका, ग्रामथान गाउँपालिका, जहदा गाउँपालिकाको सभापति जितेका छन् । 

प्रदेश १ को एकमात्र महानगर विराटनगरमा पौडेल–कोइराला पक्षबाट केन्द्रीय सदस्यद्वय डा.शेखर कोइराला र डा.महेश आचार्यको समर्थन पाएका दिपक चापागाई विराटनगर महानगर सभापतिमा निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न भएको मत परिणाम अनुसार चापागाँईले संस्थापन पक्षका सन्तोष न्यौपानेलाई ४७ मतले पराजित गर्दै विजयी भएका हुन् । सभापतिमा निर्वाचित चापागाँईले २१२ र प्रत्यासी न्यौपानेले १६५ मत ल्याएका छन् ।

पौडेल–कोइराला पक्षभित्रको उपसमूहको समर्थनमा महानगर सभापति पदमा चुनाव लडेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले सवैभन्दा कम १२७ मत प्राप्त गरेका छन् । अरुणलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश सभा सदस्य केदार कार्कीको समर्थन रहेको जनाइएको थियो । मेयर पराजुली कृष्ण सिटौला नजिकका हुन् भने सांसद कार्की डा.शेखर कोइराला निकट रहेका छन् ।

महानगर समितिको उपसभापतिमा पौडेल–कोइराला समूहकै इन्दु सुवेदी खतिवडा र निरज कोइराला विजयी भएका छन् । त्यसैगरी सचिवमा संस्थापनकी झुमा निरौला र इतरबाट तेजिन्द्र भट्टराई निर्वाचित भएका हुन् । सह–सचिवमा संस्थापन इतरका दिवस नेपाल र संस्थापनका सचिन पोखरेल निर्वाचित भएका छन् ।
शनिबार बेलुका ५ बजे सम्पन्न मतदानमा ६८१ मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए । ३५ जना क्षेत्रीय प्रतिनिधी मतदानमा अनुपस्थित भए ।
मत परिणाम अनुसार मिक्लाजुङ गाउ“ सभापतिमा बबी राई निर्वाचित भएका छन् । पौडेल–कोइराला निकट राईले १३७ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी अरूणविक्रम बस्नेतले २१ मत प्राप्त गरका गरे । 

कटहरी गाउ“ सभापतिमा रामकुमार कामत विजयी भएका छन् । सोही गाउ“पालिकाको प्रमुखसमेत रहेका कामतले ८३ मत प्राप्त गरेका हुन् । प्रतिद्वन्द्वी हरिनारायण माझीले ४३ मत प्राप्त गरेका हुन् । 

सुनवर्षी नगर सभापतिमा संस्थापनका कमलकिशोर सिंह विजयी भएका छन् । सिंहले निकटतम् प्रतिद्वन्द्वी महेश्वर राजवंशीलाई १६ मतले पराजित गरेका हुन् । सिंहले १०५ मत प्राप्त गर्दा राजवंशीले ८९ मत प्राप्त गरे ।

धनपालथान गाउ“ समितिको सभापतिमा पनि संस्थापनका दीपकवीर पाण्डे निर्वाचित भएका छन् । उनले ८३ मत प्राप्त गरे । धनपालथानमा सभापति बाहेकका सवै पदमा सर्वसम्मत भएका थिए । 

जहदा गाउँ सभापतिमा समेत संस्थापनकै महेन्द्रप्रसाद मण्डल सर्वसम्मत चयन भएका छन् । उनी दोश्रो कार्यकालका लागि गाउँ सभापतिमा सर्वसम्मत भएका हुन् । 

बेलबारीमा संस्थापन पक्षका शम्भू भट्टराईलाई पराजित गर्दै पौडेल–कोइराला पक्षका छत्र लिम्बू सभापति निर्वाचित भएका छन् । लिम्बूले १३६ मत ल्याए भने भट्टराईले ९४ मत पाएका छन् । 

सर्वसम्मत भएको केराबारीमा पौडेल–कोइराला समूहकै प्रकाश बस्नेत गाउँ सभापति बनेका छन् ।  

उर्लाबारीमा सुरेन लिम्बू सभापतिमा सर्वसम्मत भएका हुन् । लिम्बु संस्थापन इतरका हुन् । 

पथरीशनिश्चरे नगर सभापतिमा ८२ मतका साथ रूपनारायण भट्टराई निर्वाचित भएका छन् । संस्थापन पक्षका प्रत्यासी इश्वर थापाले ५४ र अर्का उम्मेदवार लोकनाथ खरेलले ५८ मत प्राप्त गरेका हुन् ।

कानेपोखरी गाउ“ सभापतिमा पौडेल समूहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापन पक्षका दीपक चौलागाँईले ७१ मत प्राप्त गरेका हुन् ।

सभापति पदमै चार जनाले चुनाव लडेको लेटाङमा पौडेल–कोइराला समुहबाटै दीपकचन्द्र राई सभापतिमा निर्वाचित भएका छन् । उनले ६० मत पाएर विजयी भए । प्रत्यासीहरु मध्ये देवराज चाम्लिङले ५६ र कुवेर पौडेलले ४१ मत प्राप्त गरेका हुन् ।

संस्थापन पक्षबीचमै भिडन्त भएको रंगेलीमा जगरनाथ मण्डल २ मतले विजयी भएका छन् । मण्डलले १०६ प्राप्त गर्दा प्रत्यासी जितनारायण खवासले १०४ मत प्राप्त गरेका हुन् ।

सुन्दरहरैचामा पौडेल–कोइराला पक्षका भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले संस्थापनका महेन्द्र धिमाललाई १०२ मत अन्तरले पराजित गरेका हुन् । सिटौलाले १६९ मत प्राप्त गरेका थिए ।

संस्थापन समुहबाट ग्रामथानमा तुलसी (किरण) विश्वास निर्वाचित भएका छन् । उनले ९३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी भूपनारायण माझीले ७२ र ग्रामथान १ को वडाध्यक्ष समेत रहेका नमोनारायण माझीले १७ मत प्राप्त गरे । सभापतिमा निर्वाचित विश्वास संस्थापन पक्षका हुन् । 

बुढीगंगामा जितनारायण थापा मगर ७६ मत ल्याएर विजयी भएका छन् । पौडेल–कोइराला समूहबाटै उनी निर्वाचित भएका हुन् । विजय गच्छदार निकटका रेवतीनारायण चौधरीले ५४ मत ल्याएका छन् । 
रतुवामाईमा निर्विरोध भएका पोष्टबहादुर बस्नेत पनि पौडेल–कोइराला समुहबाटै निर्वाचित भएका छन् । 
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x