विश्वासको मत लिन मुख्यमन्त्री शाक्यले प्रदेशसभामा दर्ता गरिन् प्रस्ताव
फाइल फोटो
हेटौंडा - बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश गर्न सुचना दर्ता गराएकी छन् । शुक्रबार मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्न सुचना गरेकी हुन् ।
मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल एमाले विभाजन भएसँगै दल विभाजन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएकोले विश्वासको मत लिने मुख्यमन्त्री शाक्यले बताइन् ।
अब असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसअघि आइतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकले तय गरेको कार्यसूचि अनुसार प्रक्रिया अघि बढ्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
नेकपा एमाले विभजान भएर बागमती प्रदेश सभामा गत भाद्र २५ गते एकीकृत समाजवादी बागमती प्रदेश सभा ससदीय दल गठन भएको थियो । सोही दिन एकीकृत समाजवादीको सांसद राजेन्द्र पाण्डे दलको नेतामा चयन भएका थिए ।
गत भाद्र २ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त भएकी थिइन् । बागमती प्रदेशको पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्यले विश्वासको मत पाउन सक्ने सम्भावना न्युन देखिन्छ । नेकपा एमालेको अहिले प्रदेशमा ४३ सांसद छन् । बहुमत ल्याउन ५६ सांसदको मत आवश्यक पर्छ ।
यस्तै कांग्रेसको २२, माओवादीको २३, नेकपा एकिकृत समाजवादी २२, विवेकशील ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् । साना दलहरुले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिए पनि बहुमत नपुग्ने अंकगणित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया