राजनीति

नवनियुक्त मन्त्री हमालबारे भ्रममा नपर्न सरकारको आग्रह

इकागज |
असोज २२, २०७८ शुक्रबार २१:५० बजे

फाइल तस्बिर

काठमाडौँ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालबारे भ्रममा नपर्न सरकारले आग्रह गरेको छ । मन्त्रिमण्डल विस्तारपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो पूर्णबैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आग्रह गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।     

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले कांग्रेसको तर्फबाट हमाललाई मन्त्री नियुक्त गरेको कार्कीको भनाइ छ । कार्कीले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको जिकिर गरे । नवनियुक्त मन्त्री हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र सोही आधारमा कांग्रेसका तर्फबाट नियुक्त हुनुभएको मन्त्री कार्कीको भनाइ छ ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिँदै मन्त्रीहरूको सफल कार्यकालको कामना गरेको प्रवक्ता कार्कीले बताए ।

बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरेको छ । यस्तै, मन्त्रिपरिषद्का समितिको पनि पुनःगठन गरिएको छ । बैठकले शुक्रबारदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको हो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कार्की नै सरकारको प्रवक्ता थिए ।


Author

थप समाचार
x