सरकारकाे कार्यकाल छोटो छ भन्दैमा हात बाँधेर बस्दैनौं : मन्त्री झाँक्री
तनहुँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारको कार्यकाल छोटो रहे पनि मन्त्रीहरू हात बाँधेर नबस्ने बताएकी छन् । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी उनले शनिबार तनहुँमा पार्टीले आयोजना गरेको दसैं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
मन्त्री झाँक्रीले वर्तमान सरकारलाई नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने उल्लेख गर्दै भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने स्पष्ट पारिन् ।
‘अहिलेको सरकारको कार्यकाल धेरै लामो छैन । तर हामीसँग समय धेरै छैन भनेर बस्ने छुट छैन, समय छोटो छ, यही समयमै केही न केही गरेरै छोड्छौं,’ मन्त्री झाक्रीले भनिन्, ‘गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, म न्यायोचित विकासको पक्षमा छु ।’
उनले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ आफ्नो मन्त्रालयले ध्यान दिने बताइन् । कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया