मुगु बस दुर्घटना
गृहमन्त्रीको निर्देशनमा हेलिकोप्टरबाट घाइतेको उद्धार गरिदैँ
फाइल फोटो
काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुको यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका छन् । उनले हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्री खाणको निर्देशन अनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेका छन् ।
‘यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्धार गर्नूहोला । आवश्यक परे हेलिकोप्टर पुर्याउनुहोला’ मन्त्रीको निर्देशन उध्रित गर्दै प्रवक्ता पोखरेलले भने, ‘उहाँको निर्देशन अनुरुप हामीले नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याइरहेका छौं ।’
घाइतेको उद्धारमा कुनै कसुर बाँकी नराख्न मन्त्री खाणले निर्देशन दिएका छन् । उनले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएको छ । भने घटनास्थलबाट एक किलोमिटर दक्षिण पर्ने पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ ।
जुम्ला मुगु सडकखण्डमा नेपालगञ्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस २५० मिटर तल खस्दा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३९ जना घाइते छन् । तीमध्ये १७ जनाको अवस्था गम्भीर भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।
अहिले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेर एयरपोर्टसम्म घाइतेलाई ल्याइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए । साथै समिट एयरको हेलिकोप्टरले पनि घाइतेलाई नेपालगञ्जसम्म ल्याइरहेको प्रवक्ता पोखरेलले बताए । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया