राजनीति

हतार गरेर एमालेको वडा र पालिका अधिवेशन एकै पटक गर्न हुँदैन : अष्टलक्ष्मी शाक्य

इकागज |
कात्तिक ३, २०७८ बुधबार १४:४३ बजे

काठमाडौँ -  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको बताएकी हुन् ।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्‍ने पक्षमा आफू नरहेको बताइन् । 


नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् ।

‘अब ६ गतेदेखि वडा तहमा एकैचोटी अधिवेशन, पालिकाहरूको अधिवेशन भन्ने कुराहरू निर्देशनमा आइसकेको छ । सम्पूर्ण कमरेडहरू त्यसका लागि तयार हुनै पर्दछ । त्यतिमात्र होइन् वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्दीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । किन भन्दाखेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो,' उनले भनिन्, 'वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो । हाम्रो पाईला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दाखेरी बलियो हुन्छ ? भन्ने कुराहरु सोच्ने बेला आएको छ । त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होईन र हतार हतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा म चाँही छैन ।' 

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यक्ता रहेकाे बताइन् । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो । उपाध्यक्ष शाक्यले बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिइन् । 


Author

थप समाचार
x