राजनीति

प्रदेश २ मा बाढीले गरेको क्षतिको विवरण संकलन सुरु

इकागज |
कात्तिक ४, २०७८ बिहीबार १७:५ बजे

जनकपुरधाम - गत दुई दिनअघि भएको अविरल वर्षाले भएका क्षतिको विवरण संकलन कार्य प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले थालेको छ ।

बिहीबार मन्त्री विजय यादवले मन्त्रालयमा एक पत्रकार सम्मेलन आयोजना गरी कातिक १ र २ गते भएको अविरल वर्षाले धानबाली, तरकारी बाली, मत्स्य फार्म लगायतमा भएको क्षतिको विवरण संकलन गर्न माहातका निकायलाई पत्राचार गरिसकिएको जानकारी दिए । उनले आफू मातहातका निकाय भन्दा यकिन विवरण स्थानीय तहले संकलन गर्न सक्ने भएकाले सहयोग गर्न आग्रह गरे ।


मन्त्री विजय यादवले तथ्यांक संकलन पछि  प्रदेश सरकारले राहत घोषणा गर्ने बताए । उनले क्षति भएको तथ्यांक संकलन नभएसम्म राहत घोषणा गर्न नसकिने भएकोले वर्षा तथा हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्न आठ वटै जिल्लामा काम थालिएको बताए । 

मन्त्री यादवले यस प्रदेशको आठ वटै जिल्लामा करिव ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएकोमा धानबाली भित्राउने समयमा वर्षाले क्षति भएको जानकारी समेत दिए । मन्त्री यादवले अहिलेसम्म पाएको सूचना अनुसार फाटफुट रुपमा कटानी भएको पाजा पसही खेतमा नै डुबेको, हावाको बेगका कारण लामो उचाइ भएका जातका धान ढलेको जानकारी प्राप्त भएको बताए । 
 


Author

थप समाचार
x