राजनीति

कुशवाहालाई दुर्व्यवहार गर्नेमाथि कारबाही थालिएपछि कांग्रेसद्वारा स्वागत

इकागज |
कात्तिक ६, २०७८ शनिबार १९:३६ बजे

काठमाडौँ – खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्नेमाथि सरकारले अघि बढाएको कारबाही प्रक्रियाको नेपाली कांग्रेसले स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै राजनीति, प्रशासन तथा समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताएका छन् । 


यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारबाहीको विषय बन्ने जनाउँदै उनले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । 

कांग्रेसले सहकर्मीउपर गम्भीर दुर्व्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारबाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।


Author

थप समाचार
x