राजनीति

विराटनगरमा एमाले महानगर कमिटीको अधिवेशन स्थगित

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १८:२७ बजे

विराटनगर – नेकपा एमालेको मंगलबार सुरु विराटनगर महानगरपालिकाको अधिवेशन बुधबारसम्मका लागि स्थित भएको छ । अधिवेशनमा दुई खेमा देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको हो ।  

नेतृत्वका लागि दुई जना दाबेदार भएपछि उनीहरूलाई मिलाउनका लागि स्थगित गरिएको अधिवेशनमा खटिएका एमालेका नेताहरूले बताएका छन् । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत मैदानमा देखिएका छन् ।


यस्तै, सचिवमा राधेश्याम कट्टेल र रोहित कोइराला मैदानमा उत्रिएर भोट मागिरहेका छन् । यसअघि जिल्ला कमिटी मोरङको सचिवालय सदस्य रहेका बस्नेतलाई विधान अधिवेशनमा सहभागी गराउनका लागि प्रदेश कमिटी सदस्य बनाइएको थियो । उनी प्रदेश खेलकुद समिति सदस्य सचिव पनि हुन् ।

एमाले अध्यक्ष केपी ओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिएका थिए । माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उनले निर्देशन दिइसकेका छन् । पत्रकारलाई भित्र जान प्रतिबन्ध गरिएको कार्यक्रममा ओलीले पालिकाको अधिवेशनमा चुनाव भए इतर पक्ष रमाउनेसमेत बताएको सहभागी एक नेताले जानकारी दिए ।
 


Author

थप समाचार
x