राजनीति

बागमती प्रदेशः भोलि विश्वासको मत लिने प्रस्तावमा मतदान

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १९:९ बजे

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि बुधबार विश्वासको मत लिने भएकी छन् । बागमती प्रदेश सभामा मतदान गर्न सबै तयारी पुरा भएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । मतदान केन्द्रमा सत्तपक्ष र विपक्षीलाई मतदान गर्न छुट्टै कक्षको व्यवस्थापन गरिने उनले बताए ।  
मुख्यमन्त्री  शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको मत लिने प्रस्ताव माथि कात्तिक ४ गते छलफल भएको थियो ।  

बागमती प्रदेशमा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेसँगै मुख्यमन्त्री शाक्यलाई तीनै दलले विश्वासको मत नदिने भएका छन् । गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ । बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनुपर्छ । नेकपा एमालेसँग हाल ४३ मत रहेको छ । स्पष्ट रुपमा प्रदेशमा गठबन्धनको बहुमत पुग्छ । गठबन्धनतर्फ नेपाली कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ ।


प्रदेशमा साना दलहरुले पनि मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्न‍े भएका छन् । विवेकशील साझाले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने यसअघि नै घोषणा गरेको  छ । विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको एक मत रहेको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाएमा पदमुक्त हुनेछिन् । बागमती प्रदेश सभा भोलि बिहान १० बजे बस्दैछ । 


Author

थप समाचार
x