राजनीति

एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

इकागज |
कात्तिक १०, २०७८ बुधबार १८:४८ बजे

 विराटनगर - नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन् । बुधबार साँझ सम्पन्न बन्द शत्रबाट अध्यक्षमा थापासहित उपाध्यक्षमा शिल्पा कार्की निराला र सचिवमा रोहित कोइराला चयन भएका हुन् ।

त्यसैगरी दुई सह–सचिवमा नवराज नेपाल र जयप्रकाश महतो सर्वसम्मत चयन भएको नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएको थियो । महानगर कमिटीको अध्यक्षमा युवा संघका पूर्व नेता तथा प्रदेश १ खेलकुद विकास वोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले समेत उम्मेदवारी घोषणा गरेका थिए ।


निर्वाचन हुने आशंकाका कारण मंगलबारको उद्घाटन शत्र पश्चातको कार्यक्रम रोकेर बुधबार बिहान ११ बजेदेखि विराटनगरस्थित कन्चनजंघा पार्टी प्यालेसमा बन्द शत्र आयोजना भएको थियो । पार्टी नेतृत्वका तर्फबाट प्रदेश कमिटीका सचिव विनोद ढकाल नेतृत्वको सहजीकरण समितिले आकांक्षीहरूसँग अलग–अलग र सामुहिक रुपमा छलफल गरेर सर्वसम्मत नेतृत्व चयनका लागि पहल भएको थियो ।

१०१ सदस्यीय महानगर कमिटीमा पहिलो अधिवेशनबाट पदाधिकारी र सदस्यसहित ९१ जना सर्वसम्मत निर्वाचित भएका छन् । बा“की १० सदस्य भने अधिवेशनबाट निर्वाचित कमिटीले मनोनित गर्ने जनाइएको छ । अध्यक्षमा निर्वाचित थापा नेकपा माओवादीसँग पार्टी एकीकरण हुनुअघि विराटनगर महानगर कमिटीको इन्चार्ज तोकिएका थिए । पछि पार्टी एकीकरण हुँदा उनी महानगर कमिटी अध्यक्ष बनेका थिए । बुधबार सर्वसम्मत निर्वाचित नगर कमिटीको आगामी बैठकले सचिवालय गठन गर्ने जनाइएको छ ।


Author

थप समाचार
x