लुम्बिनी क्षेत्र ६ जिल्लाबाट प्रदेशका १२ जिल्लामा फैलियोः मुख्यमन्त्री पोख्रेल
बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले लुम्बिनी क्षेत्र ६ जिल्लाबाट विस्तार भएर अब प्रदेशका १२ जिल्लामा फैलिएको बताएका छन् । प्रदेशसभाको मंगलबारको बैठकलाई विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, “राजधानी सरेकामा यस क्षेत्रका कसैले पनि मन दुखाउनुपर्ने म मान्दिनँ, लुम्बिनी क्षेत्र ६ जिल्लाबाट विस्तार भएर अब प्रदेशका १२ जिल्लामा फैलिएको छ । जति क्षेत्र विस्तार हुन्छ, व्यापार व्यवसायका पनि विस्तार गर्न सकिन्छ, कसैले मन खुम्चाउनुपर्ने म ठान्दिनँ ।” उनले बुटवल भैरहवा औद्योगिक करिडोरको डिपिआर तयार भइसकेको जनाउँदै लुम्बिनी अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने तयारीसाथ काम अघि बढेको जानकारी दिए ।
प्रदेशका १२ जिल्लाका जनताको विकास र समृद्धिको चाहनाअनुरुप सरकारले प्रस्ताव ल्याएको भन्दै कहाँ पोख्रेलले राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको उल्लेख गरे ।
प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने पोख्रेलको भनाइ छ । सरकारले प्रस्ताव गरेको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञानलाई जोड्ने स्थानमा प्रस्ताव गरिएको स्पष्ट पार्दै उनले राजधानी प्रस्तावित क्षेत्र राप्ती नदीले चर्चेको किनारले साबिक लुम्बिनी र राप्ती अञ्चल छोएको बताए । यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई समेत भालुवाङलाई समेट्ने दाबी उनले गरे ।
मुख्यमन्त्रीले सरकारले प्रस्ताव गरेको राजधानी र नामकरणको प्रस्ताव संसद्ले गठन गरेको विशेष समितिको सिफारिसकै आधारमा गरिएको बताए । उनले प्रदेशका १२ जिल्लाका जनताको विकास र समृद्धिको चाहनाअनुरुप सरकारले प्रस्ताव ल्याएको भन्दै कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको उल्लेख गरे । नमूना व्यवस्थित शहर बनाउने योजनाअनुसार प्रदेश राजधानी तोकिएको बताउदै उनले सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा अहिले प्रदेश राजधानीका संरचना निर्माण गर्ने पर्याप्त जग्गा नपाएको गुनासा सुनिएको बताए । प्रदेश नं ५ मा आगामी दुई वर्षभित्र प्रस्तावित राजधानीको क्षेत्रमा राजधानी तोक्नका लागि तोक्ने र त्यसपछि सुतेर बस्ने हैन काम गर्ने उनले प्रतिवद्दता जनाए ।
आफूलाई प्रदेश राजधानी आफ्नो ठाउँमा लग्यो भन्ने आरोपको खण्डन गर्नुहुँदै पोख्रेलले आफ्नो गाउँबाट भालुवाङ पुग्न र बुटवलबाट भालुवाङ पुग्न पनि उत्तिकै समय लाग्ने बताए । राजधानी सारिएकामा लुम्बिनी क्षेत्रका जनताले मन दुखाउनुपर्ने आवश्यकता नरहेको बताउँदै रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानीका रूपमा अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको स्पष्ट पारे ।
रुपन्देहीकै सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको, प्रदेशमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना बुटवलमा बनाउने र उजिरसिंह रङ्गशालाको निर्माणलगायत प्रदेशका गौरवका आयोजनासहित यस क्षेत्रको विकास गर्न सकिने उनले बताए । उनले अखण्ड लुम्बिनीका लागि बुटवलमा भएको आन्दोलनले मधेश र पहाड छुट्याएर प्रदेश बनाउने योजनालाई निस्तेज बनाएको समेत दाबी गरे । पोख्रेलले बाँके र बर्दियाबाट हरित क्रान्तिको शुरुआत गर्ने सम्भावना रहेको उल्लेख गर्दै राप्ती नदीको सिक्टा र भेरी बबई डाइभर्सनको काम पूरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया