राजनीति

संगीतले मानिसमा जागरण ल्याउँछ : ओली

इकागज |
कात्तिक १३, २०७८ शनिबार १८:६ बजे

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेमा जागरण ल्याउन राजनीतिभन्दा संगीत शक्तिशाली भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको शार्दूल  अंक–४ र गीति एल्वम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

‘संगीतमा समाज र मानिसलाई बदल्ने शक्ति हुन्छ । गीतबाट सामाजिक जागरण र अग्रगमनका लागि ठूलो काम गर्न सकिन्छ,’ ओलीले भने । कलाकारहरूले जनताका समस्यालाई छुने गीत गाउनुपर्ने उनको धारणा छ । ‘ऐना र तस्बिरमात्र होइन अगाडिको बाटो देखाउने खालको गीत गाउनुपर्दछ । जागरणका गीतले समाजलाई जुरुक्क उठाउँछ,’ ओलीले भने, ‘अरूलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको सिर्जना हुनुपर्दछ । मानवीय आवश्यकतातर्फ फर्किएको कला, साहित्य सिर्जना गर्नुपर्दछ ।’ 


नेपालमा पूर्खाले छन्द, कलाकारिताका रङ, संगीतको सूर, ताल पत्ता लगाएकाले आजको समयमा संगीत र साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्नुपर्ने ओलीले बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले गीतमा नेपालको राष्ट्रिय एकता, स्वाभिमान, अखण्डताको भाव झल्किएको जानकारी गराए । गीतमा कुन्ती मोक्तान, इन्द्र गुरुङ, कला राई, मिलन अमात्यलगायत १२ कलाकारले स्वर दिएका छन् ।


Author

थप समाचार
x