राजनीति

प्रदेश १ : विपक्षी गठबन्धन बैठक

विश्‍वासको मतको विपक्षमा मतदान गर्ने निर्णय

बाबुराम भण्डारी |
कात्तिक १४, २०७८ आइतबार १६:२४ बजे

विराटनगर -  प्रदेश १ को पाँच दलिय विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यले भोलि सोमबार लिने विश्वास मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार विराटनगरमा बसेको गठबन्धनको बैठकले गरेको दुई बुँदे निर्णयबारे जानकारी दिँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले गठबन्धनमा रहेका दलहरूको सम्बन्धलाई अझै सुदृढ गर्ने र संस्कार र सम्बन्धलाई निरन्तरता दिने निर्णय भएको बताए ।

‘भोलीको प्रदेशसभामा विपक्षीको तर्फबाट एकबद्ध भएर मतदान गर्ने हामीले प्रतिवद्धतासहित निर्णय गरेका छौं’ कार्कीले भने, ‘मुख्यमन्त्रीमा माननीय राजेन्द्र राईलाई प्रस्ताव गर्दैछौं, मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि हामी वहाँलाई नै प्रस्ताव गर्छौं ।’


मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत लिने कार्यसूची प्रदेशसभाले सार्वजनिक गरिसकेको छ । मुख्यमन्त्री आचार्यले त्यसअघि नै राजीनामा नगरे प्रदेशसभा बैठकमा कार्यसूची अनुसारको बैठक कारवाही अघि बढ्नेछ । 

आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर विपक्षी गठबन्धनभित्रको ठुलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएर संसद बैठक स्थगित गराएको थियो । देउवाको भ्रमणलाई देखाइए पनि कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने विषयमा पुर्व सहमतिको माग गरेको थियो । 

‘त्यो कुरा कांग्रेसभित्रको आन्तरिक कुरा पनि हो, गठबन्धनविचमा छलफलको विषय बनिरहन्छ, बहसको विषय बन्छ’ प्रमुख सचेतक कार्कीले भने, ‘हामीबीचमा त्यत्रो बैमनस्यता पनि थिएन, विचलन पनि थिएन, हामी एक थियौं, पार्टीभित्र चैं हामीले अरु प्रदेशमा जस्तै हाम्रो पनि एउटै कुरा हुनुपर्छ भनेर राखेका हौं ।’

त्यसपछि गठबन्धनबीच औपचारिक संवाद हुन सकेको थिएन । आइतबार विराटनगरको एउटा क्याफेमा बसेको गठबन्धनको बैठकमा पाँचै दलका नेताहरू सहभागी थिए ।

संसदको प्रक्रिया अनुसार सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै मन्तव्य दिनेछन् । त्यसपछि दलका नेता र सांसदहरूले मन्तव्य राख्नेछन् । मन्तव्य सकिएपछि सभामुखको आदेश अनुसार मत विभाजन हुनेछ ।

सत्ताधारी नेकपा एमालेसँग अहिले सभामुखसहित ४१ सांसद रहेका छन् । सत्ता जोगाउन मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिने छ । विपक्षी गठबन्धनसँग ५० सांसद रहेका छन् । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा अहिले ९२ सांसद कायम रहेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x