प्रधानमन्त्री देउवा स्कटल्याण्डमा
फाइल तस्बिर
स्कटल्याण्ड- प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुगेका छन् ।
स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् ।
भ्रमणका दौरान उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उनी विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।
नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालय सचिव डा पेमनारायण कँडेल, गृह मन्त्रालयसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ मन्त्रालयसचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया