राजनीति

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले गरे राजीनामाको घोषणा

बाबुराम भण्डारी |
कात्तिक १५, २०७८ सोमबार १४:३४ बजे

विराटनगर – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने पनि बताएका छन् । नेकपा एमालेका सांसद रहेका मुख्यमन्त्री आचार्यले आफ्नो दल विभाजन भएपछि प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको छ ।  

यसअघि माधवकुमार नेपाल समूहमै रहेका आचार्य मुख्यमन्त्री पदमा बार्गेनिङ गरेर शेरधन राईलाई हटाएर आफू मुख्यमन्त्री बनेर एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा गएका थिए ।  आचार्यले आज सोमबार प्रदेश सभालाई सम्बोधन गरेर पदबाट राजीनामा दिएका हुन् । आचार्यले नेपालको संविधान धारा ६९ (१) (क) बमोजिम पदबाट राजीनामा दिएका हुन् । 
 मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसभित्रको किचलो र नेकपा एमालेको आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो । 


प्रदेश १ मा गठबन्धन दलको तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । विपक्षी गठबन्धनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।

प्रदेश १ मा ९२ सांसद सासद छन् ।  एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१,  माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक सांसद छन् । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x