राजनीति

प्रदेश १ का मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा पत्र

बाबुराम भण्डारी |
कात्तिक १५, २०७८ सोमबार १५:५८ बजे

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा पत्र बुझाएका छन्  । सोमबार दिउँसो पदबाट राजीनाको घोषणा गरेका उनले केहीबेरअघि प्रदेश प्रदेश प्रमुख अधिकारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

आफू नेतृत्वको सरकारले जनभावनाअनुसार काम गर्दै आएको भए पनि संविधानको मर्म र भावना प्रतिकूल हुने गरी ल्याइएको अध्यादेशबाट पार्टीहरू विभाजन भएको र बहुमत गुमेको भन्दै राजीनामा दिएका हुन् ।


दल विभाजनको परिणामस्वरूप संविधानको धारा १६८ को उपधारा १ बमोजिम बनेको सरकारसँग एकल बहुमत नभएकोले आजकै मितिदेखि लागू हुने गरी मुख्यमन्त्री पदबाट आफूले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री आचार्य भाद्र १० गते नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा चयन भएका थिए । उनी तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर दलको नेता हुँदै सोही दिन प्रदेश १ को  मुख्यमन्त्रीको सपथ लिएका थिए । एमालेमा विवाद चुलिएका बेला आचार्य वरिष्ठ नेता माधव नेपाल पक्षमा थिए । तर अध्यक्ष ओलीले पूर्वमुख्यमन्त्री राईलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री बन्न बाटो खुलाएका थिए । प्रदेश १ मा एमाले नेतृत्वको सरकार गुमेसँगै एमाले केन्द्रदेखि प्रदेशसम्मै प्रमुख प्रतिपक्षी भूमिकामा पुगेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x