गण्डकी प्रदेश
दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, ४५ तोला चाँदी र ८३ तोला मुगा र चार करोड ऋण
फाइल तस्बिर
काठमाडौँ - गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले मन्त्री नियुक्त भएको झण्डै पाँच महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भए पनि उनले करिब पाँच महिनापछिमात्रै बुझाएका हुन् ।
२०७० सालमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिनपछि सफाइ पाएका मनाङेले चार करोड ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री गुरुङले टासी गुरुङसँग २ करोड ३५ लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख रुपैयाँ , कर्म गुरुङसँग ४० लाख रुपैयाँ, रमेश रानासँग ४० लाख रुपैयाँ ऋण लिएको पनि बताएका छन् । त्यस्तै उनले तलब भत्ताबापत जम्मा भएको रकम भनेर एभरेष्ट बैंकमा १० लाख ४९ हजार रुपैयाँ जम्मा भएको पनि भनेका छन् ।
उनले आफ्नो सम्पत्तिहरूमा ८३ तोला मुगा पैत्रिक, बैदेशिक रोजगारीबाट कमाएको रकमले किनेको २२ तोला सुन र ४५ तोला चाँदी रहेको पनि बताएका छन् । उनले आफ्नो सम्पत्ति विवरणमा संघर्ष गाई/भैँसी फार्ममा ४० प्रतिशत शेयर रहेको पनि उल्लेख गरेका छन् ।
त्यस्तै उनले काठमाडौँ, मकवानपुरका विभिन्न ठाउँमा जग्गा बैना गरेको पनि उल्लेख गरेका छन् । मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरी नगरपालिका- २ मा ३ रोपनी जग्गा रहेको र मकवानपुरको पदमपोखरीमा १ रोपनी ९ आना १० दाम जग्गा, प्रकाश महर्जनको नाममा रहेको काठमाडौँ धर्मस्थलीमा १ रोपनी ९ आना, श्याम महर्जनको १२ आना, कृष्ण महर्जनको ४ आना उनले बैना गरेको पनि मन्त्री गुरुङले उल्लेख गरेका छन् । यसअघि मनाङले आफ्नो सम्पत्ति कहाँ कति रहेको भन्ने आफूलाई थाहा नभएको र 'केटाहरू'सँग भएको भनेर पन्छिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया