राजनीति

एनआरएनएको निर्वाचनमा कांग्रेसले हस्तक्षेप गर्दैनः सिटौला

इकागज |
कात्तिक २०, २०७८ शनिबार ११:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्ण सिटौलाले गैरआवासीय नेपाली संघ स्वतन्त्र रहेको बताएका छन् । संघ स्वतन्त्र रहेको र नेतृत्व चयनका लागि हुने चुनावमा कांग्रेसले हस्तक्षेप नगर्ने उनले बताए  ।

संघकी उपाध्यक्ष एवं अध्यक्ष पदकी प्रत्यासी रबिना थापाले तिहार, नेपाल सम्मत र छठ पर्वका अवसरमा आयोजना गरेको भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा सिटौलाले संघभित्रको आन्तरिक समस्या आन्तरिक रूपमै समाधान गर्न सुझाव दिए ।


'एनआरएनएमा कांग्रेसले हस्तक्षेप गर्दैन,'सिटौलाले भने, प्रजातान्त्रिक पद्धति अनुसार एकताबद्ध भएर नेतृत्व चयन गर्नुपर्छ।' प्रजातान्त्रिक पद्धतिमा कसैको हस्तक्षेप बिना एनआरएनएको नेतृत्व चयन हुनु पर्ने उनले बताए ।

 सिटौलाले गैरआवासीय नेपालीलाई सहयोग गर्न आफू तयार रहेको बताए । एनआरएनएको अधिकार संविधानमा सुनिश्चित गरिएको र अरू अधिकारका लागि पनि थप सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

अमेरिका, बेलायत, जापान, कतार, स्विजरल्याण्ड, अफ्रिका, पोर्चुगल, जर्मन लगायत विभिन्‍न देशबाट कार्यक्रममा सहभागीले एनआरएनएको चुनाव तत्काल हुनुपर्ने बताए ।

एनआरएनएको नेतृत्वमा पहिलोपटक महिलालाई पुर्‍याउनु पर्ने र संघलाई साझा संस्थाको रूपमा कायम राख्न रबिना थापाको नेतृत्व मात्रै सफल हुने सहभागीहरूले दाबी गरे । सामाजिक संस्थाको रूपमा राजनीतिक हस्तक्षेप बिना नेतृत्व चयन हुनु पर्ने सहभागीले बताए ।

उनीहरूले संघको अधिवेशन रोक्न वर्तमान अध्यक्ष कुमार पन्त र अध्यक्षका अर्का  प्रत्यासी कुल आचार्यले भुमिका खेलेको आरोप पनि लगाए । राजनीति घुसाउन पन्त र आचार्य लागेको उनीहरूको भनाइ थियो ।

विधि र विधानलाई आत्मसात गरेर तत्काल चुनाव गराउन उनीहरूले वर्तमान नेतृत्वलाई आग्रह गरे । आयोजक अध्यक्षकी प्रत्यासी थापाले तत्काल चुनाव गराउने अभियानमा आफू लागेको बताईन । उनले पहिलोपटक नेतृत्वमा महिलालाई पुर्‍याएर इतिहास रच्‍ने अवसर अहिलेको एनआरएनएलाई रहेको बताईन ।


Author

थप समाचार
x