राजनीति

१० बुँदे कार्यान्वयन नभएपछि एमाले डडेलधुरामा विवाद चर्कियो

ओलीनिकट जाेशी नै माधव नेपालतिर

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १७:४८ बजे

डडेलधुरा – नेकपा एमालेको डडेलधुरा जिल्ला कमिटीमा असन्तुष्टि चर्किएको छ  ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा १० बुँदे सहमतिविपरीत गतिविधि गराएको भन्दै एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई नेकपा एसका अध्यक्ष माधव नेपालले बुधबार (भोलि) जिल्लामा आयोजना हुने कार्यक्रममा पार्टी प्रवेश गराउँदै छन् । ओलीले अध्यक्षको रूपमा प्रकाश साउदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । साउदले गाउँ तथा नगर अधिवेशनमा जोशी पक्षलाई जानकारी नै नगराई एकलौटी रूपमा नेतृत्व चयन गरेपछि जोशी पक्ष रुष्ट बनेको थियो ।


नेकपाबाट माओवादी केन्द्र र एमाले ब्यूँतिएपछि केही नेता नेकपा एस गठनमा लागे पनि जोशीसहित नेताले एमालेमै रहने निर्णय गरेको जोशीले बताए । ‘माथिबाटै एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए । १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेरिरहेका थियौं,’ जोशीले भने, ‘तर, कार्यान्वयन भएन । र, हामी एसमा प्रवेश गर्दैछौं ।’

जोशीसँगै अधिकांश नेता कार्यकर्ता एसमा प्रवेश गर्ने तयारी छ । जोशीसँगै नेतृ सकुन्तला नगरकोटी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्ट, अमरगढी नगरप्रमुख संगीता भण्डारी पनि एसमा प्रवेश गर्दैछन् । कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि अध्यक्ष नेपाल बुधबार डडेलधुरा आउने लागेको एस डडेलधुराका अध्यक्ष तुलाराम बोहराले बताए । उनकाअनुसार नेपालसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले पनि डडेलधुरा आउने कार्यक्रम छ ।
 


Author

थप समाचार
x