राजनीति

फर्जी सदस्यता थपेको भन्दै कांग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी

इकागज |
कात्तिक २४, २०७८ बुधबार २०:७ बजे

नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेमा असन्तुष्ट पक्षले पार्टीको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । पार्टीको संस्थापन पक्षले एकलौटी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यले फर्जी नाम थप गर्नको लागि पहल गरेको भन्दै असन्तुष्ट पक्षले बुधबार साँझ तालाबन्दी गरेको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर– १, बैजनाथ गाउँपालिकाको–८ र खजुरा गाउँपालिका–३ मा गरी २ सय ३९ जनाको नाम छुटेको भन्दै थप्नका लागि केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाइएको जानकारी आफूहरूले पाएपछि तालाबन्दी गर्नु परेको बाँके निर्वाचनका प्रत्याशी बन्ने तयारीमा रहेका पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसीले बताए ।


बाँके निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवादका कारण तोकिएको मितिमा हुन नसकेको वडा अधिवेशन विवाद समितिले सुल्झाएर कात्तिक २७ गते सम्पन्न गर्नेगरी तयारी गरेको थियो । तर, एक्कासि क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीलगायतको टोलीले २ सय ३९ जनाको नाम छुटेको भन्दै केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाएपछि विवाद चुलिएको नेविसंघ बाँकेका अध्यक्ष पूर्ण शर्माले जानकारी दिए ।  

तालाबन्दी गर्दा पार्टी सभापति किरण कोइरालालगायतका पदाधिकारीको सहभागिता रहेको शर्माले बताए । ‘संस्थापनले पेलेर जानखोजे आफूहरू जस्तोसुकै मूल्य चुकाउन पनिपछि नपर्ने तर, थप्नको लागि पठाएको नाम खारेज नगरेसम्म वडा तहका निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढ्न दिँदैनौं,’ उनले भने ।

पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको गृह जिल्लामा संस्थापन पक्षले पेलेरै जाने नीति बनाएको स्थानीय नेताहरूको गुनासो छ । क्रियाशील सदस्य बारे सबैभन्दा बढी विवाद क्षेत्र नम्बर १ मा थियो । आउँदो २७ गते वडा अधिवेशनको तयारीमा रहेको बेलामा निर्वाचन परिणाम नै प्रभावित बनाउने गरी फर्जी व्यक्ति थप्न खोजेका कारण तालाबन्दी गर्न बाध्य भएको कांग्रेस नेता केसीले बताए ।  ‘लोकतान्त्रिक पार्टी विधि विधान र पद्धतिबाट चल्नुको सट्टा एक व्यक्तिलाई क्षेत्रीय सभापति बनाउने मोहमा संस्थापन पक्षले सबै कुरा मिचेर जानथालेपछि विरोधमा उत्रिनुको विकल्प रहेन,’ उनले भने ।

असन्तुष्ट पक्षले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि पार्टी कार्यालय परिसरबाट बाहिरिँदै गरेका प्रमुख निर्वाचन अधिकृत तोकिएका अधिवक्ता रेवती रमण भट्टराईले बाँकेमा क्रियाशील सदस्यता थपेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।


Author

थप समाचार
x