राजनीति

महाधिवेशनकेन्द्रित प्रचार–प्रसारका लागि देश दौडाहमा कांग्रेस नेताहरू

इकागज |
कात्तिक २४, २०७८ बुधबार २२:३७ बजे

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन नजिकिएपछि नेतृत्वका आकांक्षी नेताहरू भेटघाट र देश दौडाहमा लागेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा महाधिवेशनकेन्द्रित आन्तरिक छलफलमा व्यस्त छन् । देउवाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकार सञ्चालनका लागि गठबन्धनबाट निर्मित संयन्त्रको संयोजक बनाउनेदेखि उनलाई आगामी राष्ट्रपतिका लागि अघि सार्नेसम्मको प्रस्ताव अघि बढाएको बुझिएको छ । देउवा यसपटक आफ्नो पुरानो गुटमा मात्र केन्द्रित नभइ सबै उपाय र सम्झौता गरेर सभापति बन्ने दाउमा छन् । 

प्रधानमन्त्री समेत रहेका राजनीतिका पुराना खेलाडी देउवा साम,दाम, दण्ड,भेद प्रयोग गरेर दोस्रो कार्यकालका लागि सभापति बन्न लागि परेका छन् ।  


वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट भनेर चिनिएका नेता प्रकाशमान सिंह पार्टीभित्र देउवाको प्रतिपक्षीका रूपमा उभिएका छन् । कुनै समय नेपाली कांग्रेस (प्रजातान्त्रिक)मा एकसाथ रहेका देउवा र सिंहबीच सभापतिमा प्रतिस्पर्धा हुने भएपछि टकराव पैदा भएको छ । देउवा अन्तिम समयसम्म सिंहलाई उपसभापतिमा तानेर टिम बनाउने कसरतमा थिए । तर सिंह आफैं सभापतिमा प्रतिस्पर्धा गर्ने भएपछि देउवाले पौडेलतिर पासा फालेका छन् । देउवा इतर समूहबाट एकमात्र सभापतिको उम्मेद्वार उठाउने तयारीमा रहेको पौडेल र शेखर कोइरालाहरू रहेको भनिएको समूहबाट सिंह छलफलकै बीचमा सभापतिमा उठ्ने दाबी गरेर हिंडेपछि पौडेल र सिंहबीच बोलचाल बन्द भएको छ । सिंह र कोइरालाहरूबीच सहमति नहुने भएपछि दुवैलाई मिलाएर आफू सभापतिमा उठ्ने मनसुवा पालेका वरिष्ठ नेता पौडेललाई सिंहको उम्मेदवारी अनपेक्षित भएको छ । जसका कारण उनी देउवासँग सम्झौता गर्ने मुडमा देखिएको कांग्रेस वृत्तमा चर्चा छ । 

आफू इतरको समूहमा भाँडभैलो गर्न सक्नु देउवाका लागि सभापतिमा चुनाव जित्ने मुख्य हतियार हुने देउवा निकट एक नेताले बताए । 

काठमाडौँकेन्द्रित राजनीतिमा सीमित भएको, देश नबुझेको भनेर आलोचना भएपछि नेता प्रकाशमान सिंहले चित्त दुखाएका छन् । ‘फेसबुकमा फोटो राख्नेबित्तिकै देश दुनियाँ पुगेको हुने, म एउटा सामान्य कार्यकर्ता भएर नेपाली कांग्रेसको राजनीतिमा अघि बढेको, देशभर पुगेको मान्छेलाई काठमाडौँ केन्द्रित भयो भन्ने,’ सिंह भन्छन्, ‘अहिले देशभरबाट साथीहरूले अघि बढ्न आग्रह गर्नुभएको छ । यो मेरो राजनीतिक पुँजी हो ।’ सिंह अहिले बर्दिया पुगेका छन् । उनीसँग नेपाली कांग्रेसका नेता सञ्जय गौतम पनि साथै छन् । 

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला निकट भनेर चिनिएका नेता गौतमले अहिले सिंह र कोइरालाबीच समीकरणका लागि पहल गरिरहेको बुझिएको छ । काठमाडौंको अधिवेशनमा सिंह र युवा नेता गगन थापाबीच समीकरण बनेको थियो । १४औं महाधिवेशनमा सशांक कोइराला र सिंहबीच समीकरण हुने सम्भावना उच्च रहेको बताइन्छ । 

नेपाली कांग्रेसको १३औं महाधिवेशनपछिदेखि नै देश दौडाहमा लागेका नेता शेखर कोइराला सभापतिका आकांक्षी हुन् । उनले १३औं महाधिवेशनपछि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारका रूपमा आफूलाई प्रक्षेपण गर्दै देश दौडाहमा छन् । कोइरालाले अघिल्लो महाधिवेशन लगत्तै पछिदेखि नै १४औं महाधिवेशनमा सभापतिको उम्मेद्वारका रूपमा अघि सार्दै देशभर पुगेका छन् । उनले आफू निकटका नेताहरूको भेला, भेटघाटलाई तीव्रता दिएका छन् । 

१४औं महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा सबैभन्दा पहिले कार्यालय नै खोलेर नेता विमलेन्द्र निधिले पनि प्रचार–प्रसार तीव्र पारेका छन् । 
 


Author

थप समाचार
x