पाँचथरका पाँच स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न
फिदिम – नेकपा एमालेले पाँचथरका पाँचवटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । एमाले पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार फिदिम नगरपालिका कमिटीसहित तुम्बेवा, फाल्गुनन्द, फालेलुङ र हिलिहाङ गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको हो । सबै स्थानीय तहमा एमालेले सहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । चयन भएकामध्ये स्थानीय तहका अधिकांश पदाधिकारी युवा छन् ।
फिदिममा एमालेले जलकुमार तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर कमिटी निर्वाचित गरेको छ । गए राति सम्पन्न अधिवेशनको बन्द सत्रबाट उक्त कमिटीको उपाध्यक्षमा हेमबहादुर फागो, सचिवमा दीपेन्द्र तुम्बापो, उपसचिवद्वय दीपेन्द्र थापा मगर र सुमन चापागाईं निर्वाचित भएका छन् । निर्वाचित कमिटीको ३३ प्रतिशत अर्थात् २५ जना महिला सदस्य छन् ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एमालेका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले पद तथा गोपनीयताको शपथ गराएका छन् । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्लाको हिलिहाङ गाउँपालिकामा एमालेले मदन गौतमको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा दीपक सुहाङ, सचिवमा भीमप्रसाद हेम्ब्या तथा उपसचिवद्वयमा शिवप्रसाद दंगाल र वीरेन्द्र मंग्राती छन् । यस्तै, फालेलुङ गाउँपालिकामा नन्दकुमार आङ्थुपोको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङले जानकारी दिए । उक्त कमिटीको उपाध्यक्षमा हरिप्रसाद चौहान, सचिवमा पुष्प तिम्सिना, उपसचिवद्वयमा पनिता राई र मानबहादुर खड्का छन् ।
यता, जिल्लाको फाल्गुनन्द गाउँपालिकामा एमालेले विनोद आङ्देम्बेको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा पूर्णकुमार नेम्वाङ, सचिवमा सन्दीपविक्रम नेम्वाङ र उपसचिवमा विकास चेम्जोङ छन् । यस्तै, एमालेले तुम्बेवा गाउँपालिकामा डिल्लीराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा तेजचन्द्र सम्बाहाम्फे, सचिवमा कमल थापा, उपसचिवद्वयमा इन्द्रकुमार कुरुम्बाङ र गणेश सम्बाहाम्फे चुनिएका छन् ।
बाँकी रहेका तीनवटा गाउँपालिका मिक्लाजुङ, कुम्मायक र याङवरकमा समेत आज अधिवेशन सुरु भएको छ । शुक्रबारसम्म यी स्थानीय तहमा नेतृत्व चयन हुने एमाले कार्यालय सचिव लावतीले जानकारी दिए । यसअघि देशव्यापी अधिवेशनका लागि घोषित मितिमा पाँचथरमा बाढी र पहिरोका कारण वडा र स्थानीय तहको अधिवेशन हुन सकेको थिएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया