राजनीति

जसपा-माओवादी एकताबारे दाहाललाई यादवको जवाफ :

‘कम्युनिष्ट विचारबाट मुक्त भई समाजवादी बन्ने भए सोच्न सकिन्छ’

'सर्वोच्चको विवादमा राजनीतिक दलहरूले धेरै बोल्न हुँदैन’

बाबुराम भण्डारी |
कात्तिक २७, २०७८ शनिबार १७:३६ बजे

विराटनगर – जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताबारे सोच्न सकिने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कम्युनिष्ट विचारधाराबाट मुक्त भएर समाजवादी विचारधारामा लाग्ने भए पार्टी एकताबारे सोच्न सकिने बताएका हुन् ।


‘हामी त उहिले जमानामा नै कम्युनिष्ट आइडोलोजी काम लाग्दैन भनेर छोडिसकेका हौं, वहाँहरूलाई पनि भन्दै आएका हौं । हुन त वहाँहरूले पनि हामी कहाँ कम्युनिष्ट भयौं भन्दै आउनु भएको छ  । तथापि, कम्युनिष्ट पार्टीबाट मुक्त भएर समाजवादी आन्दोलनमा अगाडि बढ्ने हो भने पार्टी एकताबारे सोच्न सकिन्छ,’ यादवले भने ।

यादवले दाहाललाई समाजवादी आन्दोलनमा आउनसमेत आग्रह गरे । अध्यक्ष यादवले मधेसी जनता, जनजाति, महिला, दलित, मुस्लिम, थारुलगायत अल्पसंख्यकका समस्या कायमै रहेको भन्दै यसलाई समाधान गर्ने गरी समाजवादी आन्दोलनमा आउन दाहाललाई आग्रह गरेका हुन् ।

‘यस्ता समस्या हल गर्ने गरी अगाडि बढ्ने हो भने भविष्यमा सोच्न सकिन्छ, तर अहिलेकै स्थितिमा कम्युनिष्ट पार्टीसँग हामीले एकीकरण गर्ने कुनै सम्भावना छैन,’ उनले भने, ‘अहिलेको अवस्थामा चुनावमा सिटको तालमेलसम्म हुनसक्ला ।’

यादवले सर्वोच्च अदालतको विवादमा राजनीतिक दलहरूले धेरै बोल्न नहुने र यसमा अदालत स्वयंले विवादको निकास दिनुपर्ने बताए । उनले दलहरूले बोल्दा फेरि पार्टीहरूले नै हस्तक्षेप गरे भनेर आलोचना हुने तर्क गरे ।

‘विवाद समाधानका लागि वहाँहरू आफैं सक्षम हुनुहुन्छ, पार्टीले गर्ने काम न्यायालयले पनि गर्ने होइन, आफ्नो दायरामा रहेर समस्याको समाधान गर्नुपर्छ’ यादवले भने, ‘त्यहाँ समस्या छ, त्यसको निरुपढ चाँडै नै हुन्छ, तर त्यसलाई राजनीतिक रूपमा हस्तक्षेप गरेर नेताहरूले अदालतलाई चलाउनु उचित छैन, दुनियाँमा यस्तो चलन छैन ।’

संविधान संशोधन गर्नेबारे सबै दलबीच सहमति बने पनि यसको प्रक्रियाबारे टुंगो लगाउन बाँकी रहेको उनले बताए । साथै इन्धनको मूल्यवृद्धि आमसरोकारको विषय भएको र  पेट्रोलियम पदार्थको मूल्य घटाउन आफ्नो पार्टीले पनि सरकारलाई आग्रह गरेको उनले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले कात्तिक १३ गते सर्लाहीमा आयोजित एक कार्यक्रममा जसपासँग पार्टी एकताका लागि आग्रह गरेका थिए । दाहालले जसपा र माओवादी एक भए आगामी आमनिर्वाचनमा मधेसबाट बहुमत प्राप्त गर्न सकिनेसमेत दाबी गरेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x