राजनीति

तीन बुँदे सहमति कार्यान्वयन नभए विद्रोह गर्ने विप्लवको चेतावनी

इकागज |
कात्तिक २७, २०७८ शनिबार १८:४२ बजे

धनगढी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरे विद्रोहमा उत्रिने चेतावनी दिएका छन् । शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।

‘तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पुरा गर्न आनाकानी गरिरहेको छ । सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । सहमति कार्यान्वयन नगरी हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह गर्छौं,’ उनले भने ।


आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको विप्लवको तर्क छ  । उनले आफ्नो पार्टीसँग हतियार नभएको जिकिर पनि गरेका छन् । ‘विप्लवसँग हतियार छ भन्ने आवाज अहिले चौतर्फी रूपमा उठ्न थालेको छ । तर हाम्रो पार्टीसँग कुनै हतियार छैन,’ उनले प्रश्न गरे, ‘सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि हामीले आक्रमण गरेनौं । न विदेशीसँग सहयोग माग्यौं । विनाप्रमाण हामीमाथि किन आरोप लगाइँदै छ ?’ 

सरकारसँग वार्ता गरे पनि यो संविधान भने आफ्नो पार्टीले नमान्ने उनले बताए । वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति नभएको बताउँदै उनले आफूहरूको एजेन्डा जनमत संग्रह भएको उल्लेख गरे । 

‘संसदीय व्यवस्था पूर्णरूपमा असफल भइसक्यो,’ उनले भने, ‘यस्तो व्यवस्था मानेर कुर्सीमा बस्न यो पार्टी जन्मेको होइन । हाम्रो माग जनमत संग्रह गर्ने हो । त्यसैका लागि हामी संघर्ष गर्ने छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच ०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि सो सहमति कार्यान्वयन गर्नका लागि नेकपाका नेतासँग पटक–पटक छलफल गर्दै आए पनि सहमतिको पूर्ण कार्यान्वयन नभएको नेकपा नेताहरूको असन्तुष्टि छ । 
 


Author

थप समाचार
x