राजनीति

महाधिवेशनका लागि एमाले बागलुङबाट प्रतिनिधि छनाेट

इकागज |
कात्तिक २८, २०७८ आइतबार १६:७ बजे

बागलुङ – नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनका लागि  बागलुङबाट १२ जना प्रतिनिधि छनोट भएका छन् । पार्टी विभाजनपछि भएको पहिलो वडा तथा स्थानीय तहको नेतृत्व छनोट गरेको एमाले बागलुङले महाधिवेशन प्रतिनिधि पनि छनोट गरेको हो ।

दुई महिला र चार खुला प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नम्बर १ बाट महिलातर्फ गण्डकी प्रदेशसभा सदस्य सावित्रा राना र गीता शर्मा चयन भएका छन् । यस्तै खुलातर्फ गण्डकी प्रदेशसभा सदस्य एवम् जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्य पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल र हिरा खत्री चयन भएका छन् । 


एक महिला र तीन अन्यको प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नम्बर २ बाट महिलातर्फबाट यमुना राना, अन्यतर्फ पुराना नेता मोहनलाल शर्मा, पूर्वपार्टी उपाध्यक्ष सञ्जय शेरचन (सुनिल) र तुलसीराम अर्याल सर्वसम्मत चयन भएको नेकपा एमाले बागलुङका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए ।

सर्वसम्मत चयन भएका अर्याल नेकपा एकता पूर्वनेकपा माओवादी (केन्द्र) का केन्द्रीय सदस्य थिए । उनी  एमालेमै रहेका हुन् । एमाले बागलुङले जिल्लाभरबाट दुई जना दलित प्रतिनिधिका लागि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर नेपाली सर्वसम्मत चयन भएका थिए । 

क्षेत्र नम्बर २ मा निर्वाचन प्रक्रिया सुरु भएको पहिलो दिन बिहीबार नै सर्वसम्मत प्रतिनिधि चयन भएका थिए ।  क्षेत्र नम्बर १ बाट दुई महिलाका लागि पाँच जना र चार खुलाका लागि १२ जनाले उमेदवारी दर्ता गराएका थिए । उमेदवारी दिएका आकांक्षीबीच छलफल गरेर सहमतिमै महाधिवेशन प्रतिनिधि छनौट गरेको एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाको भनाइ छ । 

बागलुङमा पाँच हजार २ सय ६४ संगठित सदस्यमध्ये बागलुङ क्षेत्र नम्बर १ मा तीन हजार ४ सय र क्षेत्र नम्बर २ मा एक हजार ८ सय ६४ जना संगठित सदस्य रहेका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए ।


Author

थप समाचार
x