राजनीति

महाधिवेशनमा पठाउन एमाले मोरङबाट ५७ जना प्रतिनिधि चयन

बाबुराम भण्डारी |
कात्तिक २८, २०७८ आइतबार १७:२२ बजे

विराटनगर । नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट पठाउन ५७ जना प्रतिनिधि चुनिएका छन् । मोरङका ६ वटा निर्वाचन र एक दलित निर्वाचन क्षेत्र गरी सातवटा क्षेत्रबाट ५७ जना महाविधेशन प्रतिनिधि चुनिएका हुन् ।

सबैभन्दा धेरै मनोनयन दर्ता भएको निर्वाचन क्षेत्र नम्बर ६ मा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरुबीच आइतबार अपराह्नमात्रै सर्वसम्मतिका लागि सहमति भएको हो । क्षेत्र नम्बर ६ बाट चुनिने ८ जना प्रतिनिधिका लागि गत बिहीबार ३७ जनाले मनोनयन दर्ता गरेका थिए । क्षेत्र नम्बर ६ बाट जिल्ला समन्वय समिति मोरङका प्रमुखसमेत रहेका नरेश पोखरेल, हरि घिमिरे, सत्यनारायण चौधरी, रामलाल साह, पर्शुराम बस्नेत, नारायणी घिमिरे, यशोदा अधिकारी र तारा राई सर्वसम्मत चयन भएका हुन् ।


एमाले जिल्ला निर्वाचन समितिका संयोजक गणेश लुइँटेलका अनुसार क्षेत्र नम्बर १ बाट खड्ग बस्नेत, अग्नि भट्टराई, नरेन्द्र ढुंगेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्र लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्बू महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । 

क्षेत्र नम्बर २ बाट पार्टी अध्यक्ष ऋषिकेश पोखरेलसहित पर्शुराम कटुवाल, मेघनाथ शर्मा, डिल्लीराम दाहाल, इर्जालाल राजवंशी, लिलाबल्लभ अधिकारी, गोपाल थापा, मोहम्मद हसन इमान बक्स, खेमकुमारी निरौला, मिरादेवी दास र चन्द्रकला भण्डारी गरी ११ जना सर्वसम्मत भएका हुन् ।

यस्तै क्षेत्र नम्बर ३ बाट राजकुमार ओझा, दिलिप राई, धनमाया तामाङ, केदार गुरागाईं, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, राम बस्नेत, देवराज भण्डारी, ढाकाकुमारी पराजुली र राजकुमारी इङ्नाम, क्षेत्र नम्बर ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेश भट्टराई, बाबुराम कार्की, बिमला दाहाल घिमिरे र गुणवति देवी थारु सर्वसम्मत भएका हुन् । यस्तै क्षेत्र नम्बर ५ बाट ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल, डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल र मीनादेवी यादव महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

दलित निर्वाचनतर्फ भने रााष्ट्रियसभा पुर्वसदस्य खेम नेपालीसहित कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा बिहीबार नै महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मोरङमा महाधिवेशन प्रतिनिधि चयनका लागि कात्तिक २७ गते बिहीबार मनोनयन दर्ताको कार्यक्रम राखेको थियो ।क्षेत्र नम्बर १ मा २०, २ मा २५, ३ मा ३२, ४ मा २९, ५ मा १ं७ र क्षेत्र नम्बर ६ मा सबैभन्दा बढी ३७ जना गरी कुल १ सय ७० जनाले मनोनयन दर्ता गरेका थिए ।

पार्टी नेतृत्वले प्रतिनिधि चयनको प्रक्रियालाई सकेसम्म सर्वसम्मत गराउन निर्देशन दिएको थियो । सर्वसम्मतिका लागि क्षेत्र नम्बर १ मा गुरु बराल, प्रदेश १ सचिव विनोद ढकाल र क्षेत्र नम्बर २, ४ र ५ मा जीवन घिमिरे, ३ मा भानुभक्त ढकाल र ६ मा लालबाबु पण्डितलाई संयोजन गर्ने जिम्मेवारी दिइएको थियो । चुनावै हुने अवस्था आएमा ६ वटा निर्वाचन क्षेत्रका लागि २४ वटा मतदान केन्द्र तोकिएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x