पूर्वन्यायाधीश फोरमले भन्यो : चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश पदबाट अविलम्ब बहिर्गमन हुनुपर्छ
राणामाथि महाअभियोग लगाउन पर्याप्त आधार रहेको दाबी
काठमाडौँ - पूर्वन्यायाधीश फोरमले चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश पदबाट अविलम्ब बहिर्गमन हुनुपर्ने बताएको छ । फोरमले आज एक विज्ञप्ति जारी गर्दै बार र बेन्चको सम्बन्धको मूल्य बुझ्न नसकेको भन्दै राजीनामा दिन आग्रह गरेको हो ।
'न्यायाप्रतिको आस्था, विश्वास, प्रतिवद्धता, सहयोग र सम्मान नै न्यायाधीशको सुरक्षा कवच हो भन्ने कुरा प्रधान्यायाधीशले बिर्सन हुँदैन । बार र बेन्चबीचको अन्योन्याश्रित सम्बन्ध, सद्भाव र सहयोगको आधारमा न्यायपालिकाको जग अडेको छ,' विज्ञप्तिमा भनिएको छ, 'प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिको अभिन्न अंग बारको विश्वास गुमाउनु भएको छ । त्यस कारण पनि चोलेन्द्र शमशेर राणाले प्रधान्यायाधीशको पदबाट अविलम्ब बहिर्गमन हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग रहेको छ ।'
फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा प्रधान्यायाधीश राणामाथि महाअभियोग लगाउने पर्याप्त आधारहरू रहेको पनि उल्लेन गरिएको छ । 'अदालतमा विचारधीन अवस्थामा रहेका मुद्दाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी टिकाटिप्पणी नगर्न भनि मिति २०७७ साउन १३ मा सर्वाेच्च अदालतबाट नै जारी गरिएको विज्ञप्ति एवं न्यायाधीशहरुको आचारसंहिताको दफा ४.४ विपरीत सर्वाेच्च अदालत पूर्ण इजलासमा विचाराधीन नेपाल सरकारविरुद्ध प्रतिवादी रञ्जनप्रसाद कोइराला भएको कर्तव्वय ज्यान मुद्दामा आफ्नो फैसला ठीक छ आफूले त्रूटी गरेको छैन भनी सार्वजनिक सञ्चार माध्यममा गरेको प्रतिरक्षाबाट नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा उपर न्यायाधीशहरुको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख भएका १५ बुँदे आधारमा महाअभियोग लगाउनको लागि पर्याप्त आधार भएकोले सरकार, राजनीतिक दल, सांसदलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गदैछौँ' विज्ञप्तिमा भनिएको छ ।
फोरमले आजमात्रै राणाले विज्ञप्ति जारी गरी बार र न्यायाधीहरुलाई वार्तामा आउन आग्रह गर्नुलाई भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको आरोप लगाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया