राजनीति

राजेन्द्र राईलाई विश्वासको मत दिने सांसद होटलमा भेला

बाबुराम भण्डारी |
कात्तिक २९, २०७८ सोमबार १९:३० बजे

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सत्ता पक्षका सांसदहरूलाई  विराटनगरको एक व्यवस्थित होटलमा राखेका छन् । प्रदेश सभामा विश्वासको मत लिने पूर्वसन्ध्यामा राईले ती सांसद्लाई आफ्नो पक्षमा विश्वासको मत दिन निर्देशनसमेत दिएका छन् ।  

मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री राईले बिग होटलमा सत्ता गठबन्धनका सांसदहरुलाई बोलाएका थिए । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरूलाई होटलमा बोलाएर छलफल गरेका छन् । 


सत्तापक्षका सांसदहरू सोमबार बिहानैदेखि होटलमा भेला भएका थिए । मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिनका लागि रणनीति बनाउन बैठक बसेको सञ्चारकर्मीहरूलाई जानकारी दिइएको छ । उनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जन गर्न सांसदहरूसँग सुझाव संकलन गरिने पनि जानकारी दिए । 

बैठकअघि गठबन्धनसम्बद्ध दलको अलग–अलग बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । मुख्यमन्त्री राईले गठबन्धनका सबै दलका सांसदलाई आ–आफ्नो संसदीय दलमार्फत विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गर्ने बताए । मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिएर हाल कायम रहेका मन्त्रालयहरू फुटाएर संख्या बढाउने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रदेश १ को प्रदेशसभामा अहिले सत्ता गठबन्धनसँग ५० सांसद् छन् । विश्वासको मतका लागि मुख्यमन्त्री राईलाई ४७ सांसदको समर्थन आवशयक पर्नेछ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भने ४१ सांसद् रहेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x