राजनीति

आन्तरिक विवादका कारण धनुषाका ६ वडामा अधिवेशन स्थगित

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १९:४८ बजे

जनकपुरधाम - आन्तरिक विवादका कारण नेपाली कांग्रेसका धनुषामा ६ वटा वडामा अधिवेशन स्थगित भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधि र महासमिति सदस्य एवं प्रदेश संसदीय दलका नेता रामसराेज यादव खेमाबीचकाे आन्तरिक विवादका कारण जिल्लाकाे उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहितका ६ वटा वडामा निर्वाचन स्थगित रहेकाे जनाइएकाे छ । 

जिल्ला निर्वाचन अधिकृत अरूण ज्ञवालीका अनुसार जिल्लाकाे १ सय ६९ वडामध्ये १ सय ६३ वटा वडामा निर्वाचन सम्पन्न भइसकेकाे छ भने ६ वटामा विवादका कारण स्थगित अवस्थामा छ ।  जनकपुरधाम उपमहानगरपालिका र शहिदनगर नगरपालिकाकाे एक/ एकवटा वडा, सबैला नगरपालिका र मुखियापट्टी गाउँपालिकाकाे दुई/दुई वटामा निर्वाचन स्थगित रहेकाे उनले जानकारी दिएका छन् ।


हुनत उपमहानगरपालिकाकाे वडा नं. २३ मा निर्वाचन सम्पन्न भएपनि विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गर्नुपर्ने अवस्थामा पुगेकाे ज्ञवालीले बताए । उनले भने,'साे वडाकाे परिणाम पनि आइसकेकाे छ, तर प्रतिद्वन्दीले असन्तुष्ट जनाएपछि छानबीन प्रक्रिया अघि बढाइएकाे हाे ।' 

जनकपुरधाम उपमहानगरपालिका २३ मा निधि पक्षका राघवेन्द्र साहले निर्वाचन जिति सके पनि मन्त्री यादवकै हस्तक्षेपका कारण विवादको श्रृजना भएको छ । प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री समेत रहेका रामसराेज यादव सभापति देउवा खेमाका हुन । साे खेमाबाट प्रदेश अध्यक्षका दावेदार समेत हुन ।

मन्त्री यादवले प्रदेश अध्यक्षकाे तयारीका लागि आफ्नो मान्छेलाई जबरदस्ती नेतृत्व दिने प्रयास गर्दा उपमहानगरपालिका सहित विभिन्न पालिकाका कयौँ वडाहरुमा अधिवेशन प्रभावित भएको आराेप साहले लगाएका छन्् ।  

उनले भने, 'आफू विजयी भई प्रमाणपत्र लिईसकेकाे अवस्थामा मन्त्री यादवले आफ्ना मान्छे राख्न विवाद श्रृजना गरेका छन् । चुनावमा धाँधली भएको भन्दै मन्त्री यादवका उम्मेद्वार रामानन्द चाैधरीले मतदान बहिष्कार गर्दै रद्द गर्न मांग गरेपछि राघवेन्द्र पक्षधरले मन्त्री यादव विरूद्ध पार्टी कार्यालयमा विराेध प्रदर्शन समेत गरेका छन्् ।

वडा नम्बर २३मा भएको मतदानमा कुल १ सय १९ सदस्यमध्ये ६५ मत राघवेन्द्र साहको पक्षमा परेको थियो । उता मुखयिापट्टी मुसहरनिया गाउँपालिकामा मन्त्री यादवले त्यहाँका काँग्रेसी पुराना नेता कार्यकर्तालाई तह लगाउने व्यवहार प्रदर्शन गरेको आरोप कांग्रेसी कार्यकर्ताहरुको छ । वास्तविक कार्यकर्तालाई काखापाखा गरी नातागोतालाई प्रश्रय दिन थालेपछि आफूहरूले वडा अधिवेशन बहिष्कार गरेको पार्टीका एक स्थानीय नेताले बताएका छन्् । 


Author

थप समाचार
x