बलजफ्ती अधिवेशन गराउन खोजेका मन्त्री यादव आफ्नै कार्यकर्ताको घेराबन्दीमा
जनकपुरधाम - प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव आफ्नै पार्टी कार्यकर्ताको घेराबन्दीमा परेका छन् । नेपाली कांग्रेसको वडा अधिवेशन गराउन खोजेका उनी कार्यकर्ताको घेराबन्दीमा परेका हुन् ।
बुधबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका- ५ र ६ मा आन्तरिक विवादले स्थगित रहेको अधिवेशनमाथि मन्त्री यादवले हस्तक्षेप गरेपछि उपसभापति विमलेन्द्र निधि पक्षधर कार्यकर्ताले घेराउ गर्दै उनी विरूद्ध नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।
मन्त्री यादवले गोप्य स्थानमा आफू पक्षका कार्यकर्तालाई बोलाएर मतदान गराइरहेको थाहा पाएपछि कांग्रेसका स्थानीय कार्यकर्ताले घेराउ गरेको कांग्रेसका स्थानीय नेता विनोदकुमार यादवले बताए । ‘प्रहरीको सहयोगमा एकलौटी रूपमा माइन्युट गरेर मन्त्री यादवले आफ्ना मान्छेलाई वडाधिवेशन गर्न खोजेपछि विवाद उत्पन्न भएको र आफुहरूले उनलाई घेराबन्दी विरोध प्रदर्शन गरेका हौं । पछि प्रहरीकै सहयोगमा उनी त्यहाँबाट फर्किैए,’ उनले भने ।
मन्त्री यादवले शक्तिको आडमा अलोकतान्त्रिक र तानाशाही विधिबाट पार्टीको अधिवेशनमाथि हस्तक्षेप गरेकाले उनीविरुद्ध उत्रनु परेको यादवइतर स्थानीय कार्यकर्ताको भनाइ छ । सो अधिवेशन रोक्न माग गर्दै यादवविरूद्ध प्रदर्शन गर्दा विवाद उत्पन्न भएपछि हात हालाहालको अवस्थासमेत आएको निधि पक्षका वडा सभापतिका उम्मेद्वार ज्ञानेन्द्र यादवले बताए ।
‘हाम्रा केही कार्यकर्तालाई पार्टीबाट हटाइएपछि हामीले तीन दिनदेखि अधिवेशन रोकेका थियौं । तर मन्त्रीजीले मेरै गाउँ छ जे चाहन्छु त्यही हुन्छ भनेर बन्दुकको नालझैं आफ्नो खल्तीका मान्छेलाई सभापति बनाउन खोजेपछि हामीले विरोध गर्नुपरेको हो,’ उनले भने ।
विरोध जनाउने क्रममा दुवै पक्षका कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर नेउवानिकट यादवले प्रदेश सभापतिको तयारीका लागि आफ्ना मान्छे राख्न खोज्दा मुखियापट्टीसहित चार स्थानीय तहका ६ वडाको अधिवेशन रोकिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया